कुमारवर्ती आधारभूत विद्यालय, देवचुली नगरपालिका–१३ दलदलेको ३५औँ वार्षिक उत्सव तथा अभिभावक दिवस एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो भने देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा सहायक प्रधानाध्यापक लक्ष्मीदेवी पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने शिक्षक कला पाण्डेले कार्यक्रम सहजीकरण गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख हरिप्रसाद न्यौपानेले सामुदायिक विद्यालय नै गुणस्तरीय शिक्षाको मेरुदण्ड भएको उल्लेख गर्नु भयो। उहाँले विद्यालयको शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास र सिकाइ उपलब्धि अभिवृद्धिका लागि देवचुली नगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।
वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै देवचुली नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष एकदेव पौडेल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष देवीप्रसाद रेग्मी, जिल्ला बालअधिकार मञ्च नवलपुरका अध्यक्ष नारायणप्रसाद पौडेल तथा शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार पौडेलले विद्यालयको शैक्षिक उन्नयनमा शिक्षक, अभिभावक र स्थानीय तहबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनु भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद भुर्तेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपलब्धि, चुनौती र भावी योजनाबारे जानकारी गराउनु भएको थियो।
उक्त अवसरमा विद्यालयका अक्षयकोषदाता, पूर्व शिक्षक तथा विद्यालयलाई विभिन्न किसिमले सहयोग पुर्याउने दाताहरूलाई सम्मान गरिएको थियो। साथै वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएका विद्यार्थी तथा अभिभावक खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।
