देवचुली
देवचुली १५, प्रगतिनगरमा रहेको पशुपति वैदिक आश्रममा संचालित अखिल नेपाल देशीय चतुर्थ वेदान्त भक्ति सम्मेलन तथा श्रीमद्भागवत धनधन्याञ्चल ज्ञान महायज्ञ–२०८२ को दोस्रो दिन भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ। महायज्ञलाई हरिहर आश्रमका पिठाधिस ,पशुपति वैदिक आश्रमका सल्लाहकार तथा नेपाल सन्त समाजका प्रमुख श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजद्वारा आज शुक्रबार उद्घाटन गरिएको छ।

उद्घाटन समारोहमा श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजले वेदान्तमय , भागवतमय अमृत वाणीको प्रवचन दिनुभएको यज्ञ सम्पादन मूल समितिका सचिव होमनाथ जैसीले जानकारी दिनुभएको छ। महायज्ञमा हरेक दिन बिहान ७ बजे बाट ११ बजे सम्म नियमित पाठ परायण , दिउसो १२ बजे देखि साँझ ४ : ३० सम्म श्रीमद्भागवत कथा प्रवचन , प्रत्यक दिन साँझ ५ बजे सम्म आरति ,पुष्पान्जली तथा प्रसाद ग्रहण तथा सांझ ७ बजे देखि ९ बजे सम्म सायंकालिन भजनकिर्तन लगायतका कार्यक्रमहरु रहेनेछ।

यज्ञ सम्पादन मूल समितिका सचिव होमनाथ जैसीका अनुसार यस महायज्ञले आश्रमको विकास, वैदिक परम्पराको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लीइएको छ भने यज्ञ अवधिभर भूमिदान, तुलादान, रुद्राभिषेक, चौरासी पूजा, ग्रहपूजन, व्रतबन्ध र हवनजस्ता याज्ञिक विधिहरू निरन्तर सञ्चालन भइरहनेछन्।
सोहि अन्तर्गत आज श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजजीले १ लाख ५० हजार , देवचुली १४ का जीवन अधिकारीले ५१ हजार , आश्रमका प्रमुख सल्लाहकार धर्मराज बस्यालले ५१ हजार , अस्ट्रेलिया बस्दै आउनुभएकी राधिका भट्टराइले २५ हजार तथा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले गरेको सहयोग गरि ३ लाख भन्दा माथिको दान संकलन भएको छ।

महायज्ञमा हरेक दिन साँझ ५:३० बजे सचिवालय बैठक तथा आय–व्यय अभिलेखन तथा ७ देखि ९ बजेसम्म सन्ध्याकालीन भजन–कीर्तन सञ्चालन हुनेछ भने यो यज्ञ आठ दिनसम्म चल्नेछ।