गैंडाकोट, कार्तिक–१९,
गैंडाकोट नगरपालिका स्तरीय विद्यालय खेलकुद अन्तर्गतको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्तिक २१ गतेबाट लक्ष्मी माध्यमिक विद्यालयमा हुने भएको छ। बुधबार विद्यालय प्राङ्गणमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्तिक २१ गतेबाट २४ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी गराइएको छ । गैंडाकोट नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, उमेर समूहको दौड प्रतियोगिता, सटपुट, ज्याब्लिङ्ग थ्रो, हाइ जम्प, लङ्ग जम्प, कराते, तेक्वान्दो लगायतका खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन्। प्रतियोगिताहरू विद्यालयको प्राङ्गणमा रहेको खेलमैदान र विद्यालय परिसर भित्र खेलाइने विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले जानकारी दिनुभयो । प्रधानाध्यापक कंडेलले रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनका लागि विद्यालयको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै खेल सञ्चालनका लागि विभिन्न समितिहरू बनाएर स्वास्थ्य, सुरक्षा, खानपान लगायतको अत्यावश्यक कुराहरूको लागि व्यवस्थापन गरिएको बताउनुभयो।
-1762348427.jpeg)
-1762348427.jpeg)
गैंडाकोट नगरपालिका युवा तथा खेलकुद शाखाका सदस्य प्रकाश पौडेलले प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद २५ हजार, दोस्रो हुने विद्यालयले २० हजार र तेस्रो हुने विद्यालयले १५ हजारका साथमा मेडल प्राप्त गर्ने जानकारी दिनुभयो । साथै उहाँले मार्च पासमा प्रथम हुने विद्यालयले ७ हजार, दोस्रो हुने विद्यालयले ५ हजार, तेस्रो हुने विद्यालयले ३ हजार र सान्त्वना हुने विद्यालयले १ हजार ५ सय प्राप्त गर्ने जानकारी दिनुभयो।

लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन हुने आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनका लागि गैंडाकोट नगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेको छ। यसैगरी वडा नम्बर १५ ले ३ लाख ५० हजार, वडा नं १६ ले २ लाख, वडा नं १७ ले १ लाख, वडा नम्बर १४ ले २ लाख र सुन्दरी सामुदायिक वन उपभोक्ता समूहले साठी हजार रुपैया सहयोग गरेको छ। प्रतियोगिता सञ्चालनका लागि कुल १५ लाख १० हजारको बजेट विनियोजन गरिएको आयोजक लक्ष्मी माध्यमिक विद्यालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलन कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रजापति कंडेलले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले प्रतियोगिता सञ्चालनका विविध विषयमा जानकारी गराउनुभएको कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष प्रेमराज तिमिल्सेनाले शुभकामना राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका सूचना अधिकारी सुरेन्द्रराज भट्टराईले गर्नुभएको थियो।