नवलपुर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को गुणस्तर परीक्षण सहितको अन्तिम नतिजामा नवलपुर जिल्लाका देवचुली नगरपालिका र कावासोती नगरपालिका समान अङ्कका साथमा प्रथम भएका छन्।
जिल्लामा रहेका आठ स्थानीय तह मध्ये देवचुली र कावासोती नगरपालिकाले समान ८६.७५ अङ्क प्राप्त गरी पहिलो स्थान हासिल गरेका हुन् भने मध्यविन्दु नगरपालिकाले ८६.५० अङ्क, हुप्सेकोट गाउँपालिकाले ८६.२५ अङ्क, गैंडाकोट नगरपालिकाले ८४.७५ अङ्क, बौदीकाली गाउँपालिकाले ७९.२५ अङ्क, विनयी त्रिवेणी गाउँपालिकाले ७८.७५ अङ्क तथा बुलिङटार गाउँपालिकाले ७६.७५ अङ्क प्राप्त गरेका छन्।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्थानीय तहको संस्थागत क्षमता विभिन्न १० सूचकका आधारमा मूल्याङ्कन हुने गर्दछ ।
जसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य तथा समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन लगायतका सूचकहरु समावेश छन्।
गुणस्तर परीक्षण सहितको यस नतिजामा देवचुली र कावासोती नगरपालिकाले नवलपुरमा मात्र नभई गण्डकी प्रदेशमा समेत छैटौँ स्थान हासिल गरेका छन्।