देवचुली,
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार विहान देवचुली नगरपालिकाको नगर रंगशालामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

युवा तथा खेलकुद विकास समिति देवचुलीको मुख्य आयोजना, खेलकुद विकास समिति वडा नं. १० को सहआयोजना र वडा नं. १० को समन्वयमा भएको कार्यक्रममा खेलकुद विकास समिति देवचुलीका अध्यक्ष दिपकचन्द्र भटराईले अध्यक्षता गरेका थिए।
कार्यक्रमको प्रमुख आतिथ्य नगर प्रमुख हरिप्रसाद न्यौपानेले ग्रहण गरे भने वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर र युवा तथा खेलकुद समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

वृक्षरोपण कार्यक्रम अन्तर्गत खेल मैदान बाहिरको खाली क्षेत्रमा शित्तल चिनी , कपूर र तेजपत्ता जातका बिरुवा गरि करिब २ सय वटा बिरुवा रोपिएको खेलकुद विकास समिति देवचुलीका सचिव प्रकाश काफ्लेले हेर्नेपाटिलाई जानकारी दिनुभएको छ।
काफ्लेका अनुसार कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले युवा तथा बौद्धिक पलायनलाई रोक्दै आफ्नै स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नु स्थानीय तहका लागि ठूलो चुनौती भएको उल्लेख गर्दै सम्पूर्णलाई अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ब्यक्त गरेका थिए ।

न्यौपानेले यस्ता वातावरणमैत्री कार्यले समुदायको दीगो विकासमा योगदान पुर्याउने विश्वास समेत ब्यक्त गरेका थिए । यो संगै अन्तर्राष्ट्रिय युवा दिवसकै अवसर पारि देवचुली १ , २ , ५ , ७ , १६ , र १७ मा सरसफाई तथा देवचुली ४ मा महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो।