गैँडाकोट , साउन–२५
गैँडाकोट नमूना माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान गरेको छ। शनिबार विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यार्थी सम्मानसँगै गैँडाकोट नमूना कलेजको नयाँ शैक्षिक कार्यक्रम ‘आइटी इन्टिग्रेटेड बीबीएस’ सुरु हुने जानकारी गराइयो।
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा लिइएको कक्षा १२ को परीक्षामा सहभागी २ सय ९ मध्ये १ सय ७७ जना उत्तीर्ण भई विद्यालयले ८५ प्रतिशत नतिजा हासिल गरेको थियो। जिपिए ३.६ भन्दा माथि ल्याउने १४ जना, ३.२ देखि ३.६ सम्म ल्याउने ५० जना तथा २.८ देखि ३.२ ल्याउने १ सय १३ जना विद्यार्थी रहेका छन्।

सम्मान कार्यक्रममा आविष्कार गिरी, आयुष घिमिरे, पूर्णिमा सुवेदी, कुशल मगर, अमन पौडेल, रिबास राना, सोनी कुँवर क्षेत्रीलगायतलाई सम्मानपत्र, खादा र अविरले सम्मान गरियो।
कार्यक्रममा प्राचार्य गोपेन्द्र केशरी न्यौपानेले गैंडाकोट नमुना विद्यालयले माध्यमिक शिक्षा परीक्षामा विद्यार्थीले ल्याएको अङ्क कक्षा ११ १२ वा त्योभन्दा उपल्लो तहमा अध्ययन गर्दा त्यसको स्तर खस्किन नहुने कुरामा आफूहरू कतिबद्ध रहेको बताउनुभयो पत्रकारहरूको जिज्ञासालाई सम्बोधन गर्दै उहाँले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएर खुसी हुँदै गर्दा नन ग्रेडमा परेका विद्यार्थीहरूको सङ्ख्या कम गर्ने सवालमा आँफू गम्भीर रहेको बताउनुभयो । सहायक प्राचार्य तथा प्लस टु को–अर्डिनेटर चन्द्र के.सी.का अनुसार गैंडाकोट नमुना मावि गैंडाकोट क्षेत्रको मात्र नभई समग्र नवलपुरको उत्कृष्ट विद्यालय तथा कलेज रहेको बताउनुभयो ।

कार्यक्रममा प्राध्यापक रविराज सुवेदीले विद्यालयलाई क्षेत्रीय शैक्षिक उत्कृष्टताको केन्द्र बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो। यसै अवसरमा नमूना कलेजले व्यवस्थापन संकायमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला भएको र यस वर्षदेखि सूचना प्रविधि (आइटी इन्टिग्रेटेड बीबीएस) समेत समावेश हुने जानकारी गराइयो, जसको उद्देश्य आधुनिक बजारमा प्रतिस्पर्धी दक्ष जनशक्ति तयार गर्नु रहेको छ।

कार्यक्रममा अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार लम्सालले गर्नुभएको थियो भने सहजीकरण सहायक प्राचार्य चन्द्र केसीले गर्नुभयो। कार्यक्रममा प्राध्यापक लक्ष्मीकान्त शाँखी, नारायण सापकोटा, सुनिता नेपाल, सरिता खनाल अर्याल, लिला क्षेत्रीसहित शिक्षक, अभिभावक र विद्यार्थीको उल्लेखनीय उपस्थिति थियो।