गैंडाकोट,
गैंडाकोट–१५ मा रहेको अमर इङ्ग्लिश बोर्डिङ स्कुलका स्काउट ट्रुपका विद्यार्थीहरूको प्रथम स्काउट दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ।

देवचुली–१७, पिप्रहरमा दुई दिनसम्म तालिकाबद्ध रूपमा समर क्याम्पको आयोजना गरि कार्यक्रममा स्काउट अभ्यास, अनुशासन, सेवा र नेतृत्व क्षमतामा आधारित विविध गतिविधिहरू सहित साहसिक खेलमा आत्मनिर्भर बनाउने , सहयोगी भावनाको बिकास गराउने जस्ता विषयहरु समावेश गरिएका थिए।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल अशोक कुमार पौडेलले गर्नुभएको थियो भने गैंडाकोट–१५ का वडा अध्यक्ष प्रेमराज तिमिल्सेना प्रमुख अतिथि रहनुभएको थियो।

उपस्थित शिक्षा शाखा अधिकृत रामप्रसाद अधिकारी, सहायक राष्ट्रिय प्रशिक्षक प्रमोद सिग्देल, रत्ननगर स्काउटका प्रमुख आयुक्त देवेन्द्र न्यौपाने, सहायक प्रशिक्षक जमुना शर्मा, गङ्गा सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुहुँदै दीक्षान्त समारोहले विद्यार्थीमा नेतृत्व, सहकार्य र सेवा भावनाको विकास गर्ने कुरामा आफुहरु विश्वत रहेको बताउनुभएको थियो l

कार्यक्रमका प्रमुख अतिथि तिमिल्सेनाले स्काउटका मूल्य, मान्यता र सिद्धान्तहरूलाई आत्मसात् गर्दै निस्वार्थ सेवा, अनुशासन र सामाजिक परिवर्तनमा लाग्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। विद्यालय प्रिन्सिपल अशोक पौडेलले स्काउट कार्यक्रम सुरु भएयता विद्यार्थीमा अनुशासन, सहभागिता र जिम्मेवारी बोध उल्लेखनीय रूपमा वृद्धि भएको बताउनुभयो।

विद्यालय स्काउट प्रशिक्षक राजेश सापकोटाले स्काउट ट्रुपका विद्यार्थीलाई आगामी दिनमा पनि निरन्तर कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै शुभकामना दिनुभयो।