देवचुली,
देवचुली नगरपालिका ६ स्थित टोक्रे खोला पुल नजिक रहेका दुई खानेपानीको मुहान क्षेत्र वरपर पौडी खेल्न कडाइका साथ निषेध गरिएको छ। देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान क्षेत्र रहेको यस स्थानमा गर्मीयाम सँगै विभिन्न स्थानबाट गर्मि छल्न , पौडी खेल्न र पिकनिक खान आउनेहरुको संख्या बढेपछि फोहोरजन्य गतिविधि अत्यधिक बढेको जनाइएको छ।
खानेपानी स्रोतको संरक्षण र सरसफाइलाई मध्यनजर गर्दै उक्त क्षेत्र वरपर फोहोर गर्नु, फोहोरजन्य वस्तु फाल्नु, मासु पकाउनु तथा कुनै पनि प्रकारका पिकनिक वा मनोरञ्जनात्मक गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो।


शनिबार दुवै खानेपानी संस्थाका पदाधिकारीहरु र अस्थायी प्रहरी चौकीका प्रमुखको नेतृत्वमा खटिएको टोलीले खोलामा पौडी खेलिरहेका र मासु पकाइरहेका व्यक्तिहरुलाई हटाएर, सचेत गराउँदै फिर्ता पठाएको छ।देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बलराज बिकका अनुसार, टोक्रे नहरमाथिको क्षेत्रमा रहेको मुहान वरपर फोहोरजन्य गतिविधिबाट पानीको गुणस्तरमा असर पर्न थालेकोले प्रतिबन्ध अनिवार्य भएको हो।
उहाँले बोर्ड टाँस गरेर सूचना पनि जारी गरिएको जानकारी दिनुभयो।यस्तै, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरीयाले मुहान क्षेत्रमा फोहोर बढेसँगै जनस्वास्थ्यमा खतरा उत्पन्न भएकोले आजदेखि कडाइका साथ प्रतिबन्ध कार्यान्वयन गरिएको बताउनुभयो।

सुरक्षाकर्मीको साथमा दुवै संस्थाका प्रतिनिधिहरूले दैनिक रुपमा अनुगमन गर्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो।गर्मी बढेसँगै मोटरसाइकल, अटो, जिपमार्फत आएका युवाहरूको भिड बढेपछि स्थानीय निकायले यस्तो निर्णय लिएको हो।