देवचुली
देवचुली नगरपालिका वडा न १५ मा रहेको विश्वज्योति माध्यमिक विद्यालयले विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको छ। विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थी छात्राद्वय लक्ष्मी श्रेष्ठ र सुमिना केसी सहित उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरेको हो।

विद्यालयका संस्थापक प्रिन्सिपल विष्णु प्रसाद बास्तोलाको अध्यक्षता तथा नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई नगद सहित सम्मान गरिएको हो। कार्यक्रममा ४ जीपीए प्राप्त गरेका छात्राद्वय लक्ष्मी श्रेष्ठ र सुमिना केसीलाई जनही २५ हजार , ३.९ जीपीए भन्दा माथि प्राप्त गरेका विद्यार्थीहरूलाई १५ हजार , ३.८ जीपीए भन्दा माथि प्राप्त गरेका विद्यार्थीहरूलाई १० हजार , ३.७ जीपीए भन्दा माथि प्राप्त गरेका विद्यार्थीहरूलाई ५ हजार गरि जम्मा २ लाख ४० हजार र कक्षा १० मा अध्यापन गर्ने शिक्षकहरूलाई १ लाख १० हजार गरि ३ लाख ५० हजार बराबरको नगद सहित सम्मान गरिएको हो।

शुक्रबार प्रकाशित एसईई नतिजामा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रममा देवचुली १५ का वडाध्यक्ष सुरेश कुमार रानाभाट , शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ , अभिभावकका तर्फबाट बाबुराम ज्ञवाली , शिक्षकका तर्फबाट जीवन ज्ञवाली , ४ जीपीए प्राप्त गर्ने दुवै विद्यार्थी , शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा , विद्यालयका प्रणाली प्रमुख प्रेमा भुसाल लगायतले शुभकामना मन्तव्य राख्दै उत्तीर्ण हुन सफल सम्पूर्णलाई बधाई तथा आगामी शैक्षिक यात्राको शुभकामना दिनुभएको थियो।

विधालयका प्रिन्सिपल डा प्रदिप बास्तोलाले आफ्नो भनाई राख्नुहुँदै विधालयले विधार्थी तथा शिक्षकहरुलाई पुरस्कारको बारेमा पुर्व जानकारी गराएको हुँदा विधालयले आजको सम्मान कार्यक्रम गरेको बताउनुभएको थियो। विद्यालयका संस्थापक प्रिन्सिपल विष्णु प्रसाद बास्तोलाको स्वागत तथा समापन मन्तव्य रहेको कार्यक्रमलाई विद्यालयका एकेडेमिक डाइरेक्टर रेशम कोइरालाले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा विधालयका कोर्डिनेटर डा चन्दा बास्तोलाले विधार्थी तथा शिक्षकहरुको कडा मेहनतका कारण यो नतिजा हासिल भएकोमा खुसि लागेको बताउनुहुँदै सम्पुर्णलाई आभार ब्यक्त गर्नुभएको थियो। ४ जीपीए ल्याउने विश्वज्योति माविका २ जना सहित देवचुलीका ४ विधार्थीलाई देवचुली नगरपालिकाले समेत आगामी शिक्षा दिवसको अवसर पारेर सम्मान गर्ने भएको छ।
