देवचुली
देवचुली १४ मा रहेको जनज्योति नमुना माध्यमिक विद्यालयले आज आइतबार एक कार्यक्रमको आयोजना गरि माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा ४ जिपिए ल्याउने विद्यार्थी अन्जु श्रेष्ठलाई सम्मान गरेको छ।

विद्यालयका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कमला भण्डारीको अध्यक्षता तथा शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो। कार्यक्रममा विद्यार्थी अन्जु श्रेष्ठलाई नगद २५ हजार रुपैयाँ सहित सम्मान गरि विद्यालयबाट नगरपालिका परिसर सम्म पुगी नगर प्रमुख सँग भेट गरिएको हो।

सो अवसरमा नगर प्रमुख हरि प्रसाद न्यौपानेले विद्यार्थी श्रेष्ठ सहित सम्पूर्ण विद्यालय परिवारलाई सामुदायिक बिधालय तर्फ ४ जीपीए प्राप्त गर्दै नगरकै शान राखेकोमा धन्यवाद व्यक्त गर्दै बधाई दिनुभएको थियो।विद्यालयका सहायक प्रधानाध्यापक पारस पौडेलको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रधानाध्यापक श्रीधर ज्ञवालीले शुभकामना तथा बधाई सहित यो नतिजा ल्याउन अहोरात्र खटिने शिक्षक तथा विद्यार्थी र अभिभावक सम्पूर्णलाई आभार ब्यक्त गर्दै आगामी दिनमा यस्तै नतिजालाई दोहोर्याउने प्रतिवद्धता प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा देवचुली १४ का वडा अध्यक्ष गोपाल थापा , बालमैत्री परामर्शदाता खिमानन्द भुसाल , नगर प्रवक्ता तिल प्रसाद काफ्ले , नगर शिक्षा अधिकृत नन्दलाल ढकाल लगायतले विद्यालयको उपलब्धिलाई समेट्दै सम्पूर्णलाई शुभकामना ब्यक्त गर्नुभएको थियो।

जनज्योति नमुना माध्यमिक विद्यालयमा एसइइ परीक्षामा सम्मिलित २९ जना विद्यार्थीमध्ये विद्यालयले ६५.५२% नतिजा ल्याएको थियो। जसमा ४ जिपिए प्राप्त गर्ने १ जना, ३.६ देखि ४ जिपिए ३ जना, ३.२ देखि ३.६ जिपिए ३ जना, २.८ देखि ३.२ जिपिए ११ जना, २.४ देखि २.८ जिपिए २ जना र १० जना विद्यार्थी नन ग्रेडिङमा परेका छन्।
