देवचुली
देवचुली १५ मा रहेको विश्व ज्योति माध्यमिक विद्यालयबाट विद्यार्थीका लागि प्राकृतिक चिकित्सा जीवन शैली अभियान सुरु भएको छ। आज बुधबार विद्यालयमा किशोर किशोरीमा देखिएको वर्तमान स्वास्थ्य जटिलता एवं योग आहार प्राकृतिक द्वारा व्यवस्थापन विषयक कार्यक्रमको आयोजना गरि अभियानको सुरुवात गरिएको हो।

यस अघि देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपाने , विश्व ज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल डा प्रदिप बास्तोला , मुनलाइट आदर्श पब्लिक एकेडेमी दलदलेका प्रिन्सिपल चन्द्रकान्त बसेल र वाईज भिजन स्कुल रजहरका एक्जिक्युटिभ डाइरेक्टर सन्तबहादुर क्षेत्री र चिकित्सालयका सहायक निर्देशक डाक्टर आजाद पुरीको बिशेष उपस्थितिमा भएको विशेष छलफल पश्चात यो अभियानको परिकल्पना गरिएको थियो।
उक्त छलफलमा संस्थागत तथा सामुदायिक विधालयहरुमा समेतमा योग र प्राकृतिक चिकित्साको सिमा र शक्ति, भान्छा नै औषधालय, जीवनशैली सुधार, रोग लाग्ने कारण र बच्ने उपाय, मातृ शिशु स्याहार, योग र खेलकुद लगायत विविध विषयलाई राष्ट्रिय रुपमा जनचेतनामूलक महाअभियान सञ्चालन सम्बन्धी कार्यक्रमलाई सबै स्कुलमा प्रभावकारी रुपमा कसरी लैजान सकिन्छ भन्ने विषयमा बहस भएको थियो।

सोही अनुरूप प्राकृतिक चिकित्सा अभियानको पहिलो सुरुवात बिश्व ज्योति माध्यमिक विद्यालयका कक्षा ८ र ९ का विद्यार्थीहरूलाई उल्लेखित विषयको बारेमा सचेत गराउँदै सुरु गरिएको हो। कार्यक्रममा चिकित्सालयका डाक्टर आजाद पुरीले किशोर किशोरीमा देखिएको वर्तमान स्वास्थ्य जटिलता एवं योग आहार प्राकृतिक द्वारा व्यवस्थापन विषयमा प्रशिक्षण दिनुभएको थियो।

यस अभियानको लक्ष्य ७५३ तहमा जाने भएको र यस वर्ष गण्डकी प्रदेशका ११ जिल्लाको ८५ स्थानमा कार्यक्रम गरिने योजना रहेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभएको छ । कार्यक्रममा विश्व ज्योति माध्यमिक विद्यालयका प्रिन्सिपल डा प्रदिप बास्तोलाले आफ्नो भनाई राख्ने क्रममा कार्यक्रमले किशोर किशोरीमा देखिएको वर्तमान स्वास्थ्य र त्यसको न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो।