गैंडाकोट,
आइएमई ग्रुपको लगानीमा गैंडाकोट नगरपालिका–१, मौलाकालिका डाँडामा स्थापना भएको इला होटल तथा रिसोर्ट मौलाकाली औपचारिक रुपमा सञ्चालनमा आउँदैछ ।
सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार दिउँसो ४:३० बजे होटल उद्घाटन गर्ने कार्यक्रम रहेको मौलाकाली केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिनुभयो ।
मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स सहित ६५ वटा कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध छन् ।
केबलकारसहितको इला होटल तथा रिसोर्टको अत्यधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।
आइएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ ।
हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।
लुम्बिनी केबलकारको टप स्टेसन वसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ ।
त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रक्रियामा छ ।