वैशाख २७, देवचुली
वैशाख २६ गते अपरान्ह ४ बजेपछि नवलपुरको सामुदायिक प्राकृतिक चिकित्सालयमा सदाको भन्दा भिन्न माहोल बन्यो। सधैंजसो प्राकृतिक उपचार लिन आउने स्वास्थ्यार्थीहरूको आवतजावत हुने प्राकृतिक चिकित्सालयको प्राङ्गणमा शुक्रबार कवि, साहित्यकार, संरक्षणकर्मी, जनप्रतिनिधि र नीति निर्माण तहका व्यक्तित्वहरूको उपस्थितिले चिकित्सालयको प्राङ्गणको वातावरण भिन्न बनाएको थियो । प्राकृतिक चिकित्सालयको प्राङ्गणलाई फरक अनुष्ठानमा ढाल्ने काम गरेको हो, घडियाल काव्य उत्सवले ।

आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित १०३.८ ह्यापी एफएमले विसं २०७५ सालबाट सुरु गरेको घडियाल काव्य उत्सवको चौथो संस्करण चिकित्सालय परिसरमा बैशाख २६ र २७ गते सम्पन्न भएको हो। काव्य उत्सवको पहिलो दिन विभिन्न सेसनमा प्यानल बहस, कवि तथा साहित्यकारहरूको काव्य वाचन र देवचुली नगरपालिकाका विद्यालयहरूको इको क्लबमा आबद्ध बाल कविहरूको रचना वाचन गरिएको थियो । साथै काव्य उत्सवमा संरक्षण क्षेत्रमा कलम चलाउने पत्रकार र साहित्यको श्रीवृद्धिका लागि कलम चलाउनु हुने साहित्यकारलाई सम्मान गरियो । चौथो घडियाल काव्य उत्सवको अध्यक्षता आभानी मिडिया प्रा.लि.का अध्यक्ष डिल्लीराम कडरियाले गर्नुभएको थियो। उत्सवमा गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय भेषबहादुर पौडेलको प्रमुख अतिथ्यता रहेको थियो। कार्यक्रममा आफ्ना शुभेच्छाका मन्तव्य राख्नुहँदै प्रमुख अतिथि पौडेलले सन्देश तथा सूचना को प्रवाहमा साहित्यको अहम भूमिका हुने बताउनुहुँदै प्रकृति संरक्षणको मुद्दालाई काव्यसँग जोडेर विशिष्ट प्रकृतिको कार्यक्रम आयोजना गरिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले प्रकृति संरक्षणको विषयलाई मिडियाको क्षेत्रबाट काव्यसँग जोडी गरिएको कार्यक्रमको निरन्तरताका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीले आतिथ्य मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा शिशवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तथा सामुदायिक प्राकृतिक चिकित्सालयका कोषाध्यक्ष नेत्रबहादुर पाण्डे, देवचुली नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष एकदेव पौडेल, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, होमस्टे महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दनिया थारु र देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले शुभेच्छा मन्तव्य राख्नुभएको थियो । १०३.८ ह्याप्पी एफ.एम.का प्रबन्ध निर्देशक तथा चौथो घडियाल काव्य उत्सवका संयोजक दिपेश कडरियाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाका स्टेसन म्यानेजर आदर्श सुशीलले गर्नुभएको थियो।
पहिलो सेसन "स्वर्णिम जीवनका लागि प्राकृतिक चिकित्सा"

काव्य उत्सवको पहिलो सेसनमा कार्यक्रमको अतिथ्य गरिरहेको सामुदायिक प्राकृतिक चिकित्सालयको विषयमा प्यानल छलफल गरियो। छलफलमा प्रख्यात अर्थशास्त्री तथा संघीय सांसद डा.स्वर्णीम वाग्ले र सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक एवं प्राकृतिक चिकित्सा अभियान्ता हरि सापकोटासँग पत्रकार रमेश बस्ताकोटीले छलफल गर्नुभयो । छलफलमा रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय देवचुली नगरपालिकाको मात्र नभई देशकै गर्व गर्न लायक संस्था रहेको बताउँदै प्यानल बहसका वक्ताहरूले प्राकृतिक चिकित्सा जीवनशैलीसँग जोडिएकाले नेपाल सरकारले प्राकृतिक चिकित्सा विज्ञानलाई महत्वका साथ अघि बढाउनुपर्ने बताउनुभयो। प्राकृतिक चिकित्सा विधि आर्थिक दृष्टिकोणले पनि अन्य उपचार विधि भन्दा सहज, सरल र कम खर्चिलो हुने भएकाले नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा प्राकृतिक चिकित्सालाई सरकारले गम्भीरताका साथ लिएर प्रवर्द्धन गर्नुपर्ने निचोड निकालिएको थियो।
दोस्रो सेसन "सिनेमाले पर्यटन प्रवर्धन कति भ्रम कति यथार्थ"

तीन दशकभन्दा लामो समयबाट नेपाली चलचित्रको क्षेत्रमा आफ्नो अभिनय कलाबाट परिचित हुनुभएका सदाबहार नायक सरोज खनालले संरक्षणको क्षेत्रमा लामो अनुभव प्राप्त गरेका होमस्टे महासंघ नेपालका केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दनियासँग दोस्रो सेसनको स्टेज साझा गर्नुभयो। दोस्रो सेसनको प्यानल बहसमा नेपालजस्तो सुन्दर, शान्त र पर्यटकीय दृष्टिकोणले निकै धनी राष्ट्रमा सिनेमा क्षेत्रले पुर्याएको योगदान र त्यसबाट पर्यटनमा परेको प्रभावका बारेमा प्यानल छलफल गरियो । सो अवसरमा सेसनका वक्ताहरूले सिनेमाले पर्यटन प्रवर्द्धन गर्नुपर्ने दृष्टान्त प्रस्तुत गर्दै नेपालमा भने पर्यटन प्रवर्धन हुने खालका चलचित्रहरू बन्न नसकेको धारणा राख्नुभयो। नेपाल सरकारको झन्झटिलो नीति व्यवस्था र भारत र चीन जस्ता ठूला राष्ट्रहरूको बीचमा पर्यटकीय सम्भावना बोकेर पनि नेपालले उल्लेख्य प्रगति गर्न नसकेको छलफल गरियो। दोस्रो सेसनको सहजीकरण पत्रकार बोमलाल गिरीले गर्नुभएको थियो।
तेस्रो सेसन "आँगनीमा लिट्–नेचर"

चौथो घडियाल काव्य उत्सवको तेस्रो सेसनमा नवलपुर र छिमेकी जिल्ला चितवनका साहित्यकारहरूले काव्यिक रचना वाचन गरि सामुदायिक प्राकृतिक चिकित्सालयको साँझको वातावरणलाई बनाएका थिए । गजलकार लेखराम सापकोटाले सहजीकरण गर्नुभएको सेसनमा नवलपुरका साहित्यकार राधा पाण्डे, राजन पाण्डे, आइ.पी सापकोटा र विष्णु भट्टराईले आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो। यसैगरी चितवनका स्रष्टा भूपिन, सिर्जन अविरल, उदय अधिकारी, प्रकाश चापागाईं, गोविन्द गोपाल खतिवडा, परिवेश मान्छे र विपिन पाठकले रचना वाचन गर्नुभएको थियो। काव्य सेसनमा आयोजकका तर्फबाट आदर्श सुशीलले रचना वाचन गर्नुभयो। आँगनीमा लिट्–नेचर नाम दिइएको काव्य सेसनमा रचनावाचन गर्ने अधिकांश साहित्यकारहरूले पर्यावरण, वातावरण, प्रकृति र मानव जीवनका बारेमा कविता वाचन गर्नुभएको थियो।
चौथो सेसन "पर्या बाल काव्य सरिता"


चौथो घडियाल काव्य उत्सवको चौथो सेसन तथा दोस्रो दिनको पहिलो सेसनमा देवचुली नगरपालिका भित्रका विद्यालयहरूको इको क्लबका बालकविहरूको सहभागितामा पर्या बाल काव्य सरिता सेसन सम्पन्न गरियो। सेसनको सहजीकरण जागृति बाल तथा युवा सरकार नेपालका किशोरी अभियन्ता रिजिना घर्ती मगरले गर्नुभएको थियो। काव्य सरितामा पृथ्वी माध्यमिक विद्यालयकी रितिका रानाभाट, कालिका माध्यमिक विद्यालयकी संज्ञा सेन, वाइज भिजन इङ्लिस बोडिङ्ग स्कुलकी विअङ्गसीका थापा, दिव्य ज्योति आधारभूत विद्यालयका आयुष भुषाल, जनज्योति नमुना माध्यमिक विद्यालयकी बबिना गुरुङ, जनज्योति माध्यमिक विद्यालयकी पूजा सुवेदी, नेपाल नमुना माध्यमिक विद्यालयकी दिपाकला लम्साल, विश्वज्योति माध्यमिक विद्यालयकी सृष्टि अधिकारी, भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयकी सुयोग्या बस्याल, वरचुली माध्यमिक विद्यालयका सुजल सुवेदी, देवचुली माध्यमिक विद्यालयकी मोनिका लम्साल, ओएसिस इङ्लिस बोडिङ्ग स्कुलकी बिनु बिकले पर्यावरणीय कविताहरू सुनाउनुभएको थियो। सो सेसनको अन्त्यमा ओएसिस इङ्लिस बोडिङ्ग स्कुल कै विद्यार्थीहरूले नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा चर्चित गायक रमेशराज भट्टराईले प्राकृतिक चिकित्सा सम्बन्धी गीत र आफ्नो चर्चित गीत बेहुला बनाउँछु भन्थी गाएर विद्यार्थीहरुलाई मनोरञ्जन गराउनु भएको थियो । साथै उहाँले सामुदायिक प्राकृतिक चिकित्सालयमा आँफूले उपचार गराउँदाका अनुभव समेत सुनाउनु भएको थियो।
आचार्यलाई संरक्षण पत्रकारिता पुरस्कार र अभागीलाई साहित्य सम्मान


घडियाल काव्य उत्सवमा संरक्षणको क्षेत्रमा कलम चलाउनु हुने पत्रकारहरूलाई ह्याप्पी एफएमले अघिल्लो सेसनबाट पुरस्कार दिन सुरु गरेको छ। चौथो घडियाल काव्य उत्सवमा पत्रकारिताको माध्यमबाट प्रकृति संरक्षणमा योगदान पुर्याएबापत नवलपुरका पत्रकार दयाराम आचार्यलाई ह्याप्पी संरक्षण पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ । पत्रकार आचार्य रासस र नवलपुर प्रेस अनलाइनमा आवद्ध छन् । यसैगरी नवलपुरमा रहेर नेपाली साहित्यको श्रीवृद्धिका लागि आफ्ना लेखनलाई अगाडि बढाउँदै आउनुभएका सदानन्द अभागीलाई ह्याप्पी साहित्य सम्मान–२०८२ बाट सम्मानित गरिएको छ । दुवै सम्मानित एवं पुरस्कृत व्यक्तित्वहरुलाई संघीय सांसद डा.स्वर्णिम वाग्लेको हातबाट पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

अभागीको पुस्तक "अमेरिका यात्रा" लोकार्पण
घडियाल काव्य उत्सवको चौथो संस्करणमा ह्यापी साहित्य सम्मानबाट सम्मानित हुनुभएका सदानन्द अभागीले आफ्नो नियात्रा संग्रह अमेरिका यात्रा सार्वजनिक गर्नुभएको छ। संघीय सांसद डा. स्वर्णिम वाग्ले, सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष एवं दोस्रो दिनका प्रमुख अतिथि सन्तबहादुर क्षेत्री र लेखक सदानन्द अभागी स्वयंले पुस्तक लोकार्पण गर्नुभएको हो।