देवचुली
नवलपुरको देवचुली १३ मा रहेको १०३.८ ह्याप्पी एफ एम को आयोजनामा हुन लागेको घडियाल काव्य उत्सवको चौथो संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ।
भोलि शुक्रबार देखि प्राकृतिक चिकित्सालय देवचुली १६ रजहरमा हुने घडियाल काव्य उत्सवको सम्पूर्ण तयारी पुरा भएको ह्याप्पी एफएमका स्टेसन म्यानेजर आदर्श शुसिलले जानकारी दिनुभएको छ। तेस्रो संस्करण सम्म सफलतापूर्वक सम्म गरिँदै आएको घडियाल काव्य उत्सवको चौथो संस्करण दुई दिन सम्म सञ्चालन हुनेछ। उत्सवमा प्यानल बहस, जैविक काव्य वाचन, ईको क्लबका विद्यार्थीहरूको कविता वाचन, ह्याप्पी पत्रकारिता पुरस्कार र ह्याप्पी साहित्य सम्मान वितरण लगायतका कार्यक्रमहरू रहेको ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले जानकारी दिनुभएको छ।
उत्सवको पहिलो दिनको पहिलो सेसनमा स्वर्णिम जीवनमा प्राकृतिक चिकित्सा विषयमा प्यानल बहस गर्नको लागी अर्थशास्त्री तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्ले र प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटा द्वय वक्ताको रुपमा रहनुहुनेछ भने दोस्रो सेसनमा "सिनेमाले पर्यटन प्रबर्द्धन: कति भ्रम कति यथार्थ " विषयक प्यानल बहसको लागी सिनेकर्मी सरोज खनाल र होमस्टे महासङ्घका केन्द्रिय अध्यक्ष प्रेमशङ्कर मर्दनिया द्वय वक्ताको रुपमा रहनुहुनेछ। दुवै सेसनको लागी क्रमश पत्रकार द्वय रमेश बस्ताकोटी र बोमलाल गिरीले सहजीकरण गर्नुहुने एफएमका स्टेसन म्यानेजर आदर्श शुसिलले जानकारी दिनुभएको छ।
उत्सवको पहिलो दिनको अन्तिम सेसनको रुपमा " आगनीमा लिट-नेचर " अर्थात जैविक काव्य वाचनको कार्यक्रम रहनेछ जसमा नवलपुर र चितवनका गरि एक दर्जन साहित्यकारहरूले आफ्नो काव्य वाचन गर्नुहुनेछ। काव्य वाचनमा भुपेन्द्र गण्डर्षी, राधा पाण्डे, राजन पाण्डे, आई पि सापकोटा, आदर्श सुशील, विष्णु भट्टराई, भूपिन, सिर्जन अविरल, उदय अधिकारी, प्रकाश चापागाईं, गोविन्द गोपाल खतिवडा र विपिन पाठक सहभागी हुने र यस सेसनलाई लेखराम सापकोटाले सहजीकरण गर्नुहुनेछ।
यो सँगै दोस्रो दिन देवचुली नगरपालिका भित्र रहेका विभिन्न विद्यालयका ईको क्लबका विद्यार्थीहरूले पर्या बाल काव्य सरिता सेसन समेत रहने छ जसमा बाल कविहरूले पर्यावरण सम्बन्धी बाल कविताहरू वाचन गर्नेछन् । उत्सवको अवसर पारि दोस्रो "ह्याप्पी संरक्षण पत्रकारिता पुरस्कार २०८२" नवलपुरका पत्रकार दयाराम आचार्य र ह्याप्पी साहित्य सम्मान अन्तर्गत साहित्यकार सदानन्द अभागीलाई सम्मान गरिने ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताउनुभयो।