देवचुली
देवचुली १७ मा रहेको ओएसिस इङ्लिस बोर्डिङ्ग स्कुलले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। विद्यालयले बिहीवार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष बसन्ती पौडेलको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिका वडा नं १७ का वडाध्यक्ष गणेश शर्मा चालिसेले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चालिसेले ओएसिस इङ्लिस बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षा प्रदानमा विद्यालयलाई स्थापित गरिरहेको बताउनुहुँदै आगामी दिनमा पनि शैक्षिक प्रगतिको कामना गर्नुभयो।

वार्षिकोत्सवको अवसर पारेर बिहीबार विद्यालयमा दीर्घसेवा गर्ने शिक्षक , उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षक , नगरपालिका स्तरीय आधारभूत तह परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी , वार्षिक खेलकुद सप्ताहमा बिजयी हुने विद्यार्थीसँगै अभिभावकहरूको खेलकुद प्रतियोगितामा विजेता हुन सफल अभिभावक लगायतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

कार्यक्रममा विद्यालयको कक्षा ९ का विद्यार्थी सुबोध सुबेदीको विद्यार्थीहरुको तर्फबाट स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा विद्यालयका पूर्व शिक्षक तथा अभिभावक प्रतिज्ञा ज्ञवाली, प्याब्सन देवचुलीका अध्यक्ष सन्त बहादुर क्षेत्री, देवचुली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइराला, विद्यालयका पूर्व प्रधानाध्यापक एवम् सल्लाहकार राजन गौतम लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक भेषभुषामा नृत्य तथा गायन प्रस्तुत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक खगिसरा ढकालको स्वागत मन्तव्य रहेको बार्षिकोत्सव समारोहको सहजिकरण विद्यालयका प्रशासकीय प्रमुख रोहित गौतमले गर्नुभएको थियो।