देवचुली
देवचुली नगरपालिकाको गौरवको रुपमा देवचुली उद्योग वाणिज्य संघ को आयोजनामा देवचुली १४ छत्तिसघरमा आयोजित पाँचौ देवचुली महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ।
गत फाल्गुन १२ गते देखि सुरु भएको महोत्सवमा सोमबार चर्चित लोक दोहोरी गायिका सम्झना भण्डारी , गायक बालचन्द्र बराल , जादुगर बलराम सरकार , जेडिसी डान्स ग्रुप सहित स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो।

लोक दोहोरी गायक ढाकाराम पौडेलको सहजीकरण रहेको सांस्कृतिक कार्यक्रममा गायिका भण्डारीले आफ्नो चर्चित गीत पिर दियो , घाँसै काट्यो खोली दोभान , औँठी बेरुवाको , क्यार्न माया मारिचौ , रेलको भाडा लगायतका गीत गएकी थिइन् भने अर्का गायक बरालले म्याग्दी खोला ,घुम्तिघुम्ती रोड , झम्के साँझमा , नमस्ते छ्याजलो झोर्ले जस्ता गीतहरू गाउँदै दर्शकहरूलाई नचाएका थिए। यो सँगै गायक ढाकाराम पौडेल , बालचन्द्र बराल र गायिका सम्झना भण्डारीले दोहोरि समेत गाएका थिए।

देवचुली उद्योग वाणिज्य संघका लेखा समिति सदस्य भोजराज ज्ञवालीको स्वागत मन्तव्य रहेको आजको औपचारिक कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद दवाडीको अध्यक्षता तथा देवचुली उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष धर्मराज बस्यालको प्रमुख आतिथ्यता रहेको थियो।

महोत्सव कै अवसर पारि सुरु भएको देवचुली डान्स आइडल महोत्सवका सांस्कृतिक संयोजक तथा सल्लाहकार सत्य नारायण भुसालको सहजिकरणमा निरन्तर अघि बढिरहेको छ।

सङ्घका महासचिव बिनोद सिलवालको सहजीकरण रहेको महोत्सवमा १ सय ५० वटा भन्दा बढी व्यापारिक स्टल, २० वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका प्रर्वद्धनात्मक स्टल, बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु , जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी, ६० भन्दा बढी राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने साथै १ लाख ५० हजार दर्शक भित्र्याउने र १५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ। मंगलबार महोत्सवमा चर्चित गायिका एलिना चौहान आउने भएकी छिन्।

गायिका चौहानको कट्टा हान्दिन्छु , धोकेवाज , यो भाग्यमा खोट छ जस्ता गीतहरु चर्चित छन्।