देवचुली
देवचुलीको फारममा जारी चौथो देवचुली मेयर कप फुटबल प्रतियोगितामा दोस्रो चरणको खेल अन्तर्गत आज सोमबारको खेलमा अभिषेक चर्च बिजयी भएको छ।
आजको खेलमा भैरव स्पोर्ट्सलाई ५-२ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्च रजहर सेमिफाइनल प्रवेश गरेको हो।

अभिषेक चर्च रजहरको जितको लागी आजको म्यान अफ द म्याच समेत हुन सफल जर्सी नम्बर ९ का खेलाडी माया क्रिस्टीले ह्याट्रिक गोल गरेको प्रतियोगिताको सह-आयोजक फारम खेलकुद विकास समितिले जनाएको छ।
प्रतियोगिताका सह संयोजक सन्दिप पौडेलले सहजीकरण गरेको कार्यक्रममा देवचुली १६ का वडा अध्यक्ष केशव राज गौतम , स्टिम फिस रेस्टुरेन्ट एण्ड लजका संचालक डोलराज सारुले रेफ्रीलाई बल हस्तान्तरण गरि सुरु गरिएको थियो।

खेलको समापनमा भने देवचुली ९ का वडा अध्यक्ष तथा देवचुली युवा तथा खेलकुद बिकास समितिका संस्थापक अध्यक्ष बलिराम सापकोटा , जिल्ला खेलकुद समितिका सचिव तथा बिनई सर्दी बालुवा तथा गिटी प्रशोधन उद्योगका संचालक गिरिराज गौतम लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो।

देवचुलीको फारममा रहेको बरचुली माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगितामा प्रथम तथा द्वितीय हुने समुहले क्रमश रु १ लाख ५५ हजार र ८१ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैगरी सेमिफाइनल पुग्ने दुई टिमलाई रु २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ५ हजार, उत्कृष्ट गोल रक्षकलाई रु ५ हजार, सर्वाधिक गोलकर्तालाई रु ५ हजार र हरेक दिनका म्यान अफ द म्याचलाई एक र एक हजारको दरले पुरस्कृत गरिनेछ । प्रतियोगितामा नवलपुरसहित पश्चिम नवलपरासी र चितवनका गरी १५ वटा टिमको सहभागिता रहेको छ।
मङ्गलबार देवचुली १ खेलकुद बिकास समिति र गैंडाकोटको बिचमा खेल हुनेछ।