देवचुली
देवचुली नगरपालिकाको गौरवको रुपमा आयोजित पाँचौँ देवचुली महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ।
गत फाल्गुन १२ गते देखि सुरु भएको महोत्सवमा आज शनिबार चर्चित लोक दोहोरी गायक बद्रि पङ्गेनी, चर्चित लोक पप गायक धिरज राई, जेडिसी डान्स ग्रुप लगायतको प्रस्तुति रहेको थियो।

महोत्सवमा गायक बद्रि पँगेनीले आफ्नो चर्चित गीत कन्या राशि , रातो पछ्यौरी , तिम्रो घरमा मेरो छोरी , आमा घरमा आउँदिन जस्ता गीत गाएका थिए भने अर्का गायक धिरज राईले सोइ ढोले सोइ , आइ विल बि देयर , तिमी सँग , लुकी लुकी जस्ता गीतहरू गाउँदै दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए।

देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा देवचुली १४ छत्तिसघरमा सञ्चालित पाँचौँ देवचुली महोत्सवमा शनिबार देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडीको अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य सचिव तिलादेवी अर्यालको रहेको थियो ।

सङ्घका महासचिव बिनोद सिलवालको सहजीकरण रहेको महोत्सवमा आजका प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचाल र नेपाल उद्योग वाणिज्य सङ्घका जिल्ला नगर उपाध्यक्ष शूर कृष्ण वैधको शुभकामना मन्तव्य रहेको थियो।

यसपटकको देवचुली महोत्सवमा महोत्सवमा १५० वटा भन्दा बढी व्यापारिक स्टल, २० वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका प्रर्वद्धनात्मक स्टल, बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु , जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी, ६० भन्दा बढी राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने साथै १ लाख ५० हजार दर्शक भित्र्याउने र १५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।