गैंडाकोट,
गैँडाकोट नगरपालिका वडा नं १४–१७ मा अवस्थित अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २२ औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मनहरी सापकोटाको अध्यक्षता तथा खानेपानी ढल व्यवस्थापन केन्द्रका उपमहानिर्देशक रामचन्द्र काफ्लेको प्रमुख आतिथ्यमा संस्थाको कार्यालय परिसरमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका उपाध्यक्ष गङ्गा सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि रामचन्द्र काफ्लेले अमरापुरी खानेपानी संस्थाको नाम खानेपानी विभागमा पनि चर्चा हुने गरेको बताउनुहुँदै संस्थाको थप उन्नतिको कामना गर्नुभयो ।
काफ्लेले नेपाल सरकारको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत सह- लगानीमा अमरापुरी क्षेत्रमा खानेपानीको अवधारणा अगाडि बढेको स्मरण गर्नुहुँदै खानेपानी तथा सरसफाइमा यो क्षेत्र सँधै अग्र स्थानमा रहेको बताउनुभयो । हाल अमरापुरी खानेपानी संस्थाको लागि सङ्घीय खानेपानी मन्त्रालयमा ४८ करोडको प्रस्ताव पेस भएको र अमरापुरी खानेपानीको पहुँच नपुगेको ठाउँमा र खाली भएका ट्याङ्कीलाई भर्ने काम गर्न उहाँले सुझाव दिनुभयो । देशभरिमा जम्मा १९ प्रतिशत नागरिक मात्र शुद्ध खानेपानीको पहुँचमा रहेको बताउनुहुँदै अमरापुरी खानेपानी संस्थाका उपभोक्ता त्यही मध्येका भाग्यमानी भएको बताउनुभयो । काफ्लेले संस्थाको नेतृत्वमा सहकार्य र विकासका काममा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै सकेसम्म सहमतिमै नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष मनहरी सापकोटाले संस्थाले आगामी सन् २०३० सम्म नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसारको सुरक्षित खानेपानीको पहुँच उपलब्ध गराउने लक्ष्य लिएको बताउनुभयो । उहाँले गैँडाकोट आसपासका समान उद्देश्य भएका खानेपानी संस्थाहरुबिच सहकार्य तथा एकीकरण गर्ने प्रकृया अगाडि बढाइने समेत बताउनुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै गैँडाकोट नगरपालिका वडा नं १४ का वडाध्यक्ष कोकिसरा राना मगर, वडा नं १५ का वडाध्यक्ष प्रेमराज तिमिल्सिना ,वडा नं १७ का वडा अध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष गोपी कंडेल,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रतिनिधि एवं नवलपुरका प्रमुख महेन्द्र आचार्य ,रजत जयन्ती स्मारिका प्रकाशन समितिका प्रधान सम्पादक तेजेन्द्र सापकोटा , विद्यालयहरूको तर्फबाट लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक मणिकण्ठ कँडेल, संस्थाका पूर्व अध्यक्ष भवानीप्रसाद पौडेल, पूर्व सल्लाहकार पुष्पराज पौडेल , संस्थाका सल्लाहकार तथा निर्वाचन समिति संयोजक खेम प्रसाद सापकोटा, रजहर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष वासुबावु कोइराला, संस्थाका पूर्व उपाध्यक्ष लालमाया गुरुङ लगायतले अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई यहाँ सम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने सम्पुर्णलाई आभार व्यक्त गर्दै अबको नेतृत्व चयन गर्दा संस्थाको हितमा काम गर्ने ब्यक्तिलाई छान्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वार्षिक प्रतिबेदन अध्यक्ष मनहरी सापकोटा, सचिवको प्रतिबेदन सचिव हिरालाल सापकोटा, कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष कमला गुरुङ र लेखा प्रतिबेदन लेखा संयोजक बिजय अधिकारीले प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा विभिन्न समयमा सहयोग पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
संस्थाका सचिव हिरालाल सापकोटाको सहजीकरण रहेको कार्यक्रममा स्मारिका प्रकाशनमा सहयोग पुर्याउने स्मारिका प्रकाशन समितिका संयोजक सहित ३९ जनालाई सम्मान समेत गरिएको थियो ।