देवचुली,
किताबी ज्ञान मात्रै नभई जीवनपयोगी सीपमूलक र व्यवहारिक ज्ञान दिने उद्धेश्यका साथ देवचुली नगरपालिकाले ‘विद्यार्थी सिप मेला’ कार्यक्रमको आयोजना गरेको छ । बुधबार जनज्योति नमूना माध्यमिक विद्यालयको समन्वयमा ‘विद्यार्थी सिप मेला’ आयोजना गरिएको हो । विद्यालय शिक्षालाई सिपसँग जोड्ने नगरपालिकाको मुख्य शैक्षिक योजना अनुसार देवचुली नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सिप मेला कार्यक्रम तय गरिएको थियो ।
जनज्योति नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले गर्नुभएको थियो ।

‘विद्यार्थी सिप मेला’मा विभिन्न विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने, गुन्द्री बुन्ने, डोको बुन्ने, सिलाई कटाई, चित्रकला, मकैको परिकार, केराको परिकार, विभिन्न परिकार बनाउने, विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी लगायतका क्रियाकलापहरु प्रस्तुत गरेका थिए ।
पछिल्लो समय शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेकाले तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै विद्यार्थीहरुलाई व्यवहारिक रुपमा लैजान पाउँदा उपस्थित विभिन्न विद्यालयका शिक्षकहरु पनि प्रफुल्लित थिए । विद्यार्थीहरुको व्यवहारिक ज्ञान प्रतिको चासोले भविष्यमा आउने जस्तो सुकै परिस्थतिलाई पनि सहजै सामना गर्न सक्ने क्षमता वृद्धि हुने कार्यक्रममा सहभागी शिक्षकहरुको प्रतिक्रिया थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रहनुभएका देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले ‘विद्यार्थी सिप मेला’को स्टल अवलोकन पश्चात् विद्यार्थीहरुले गरेका क्रियाकलाप देख्दा आँफू आश्चर्य भएको बताउनुभयो । उहाँले कति कुरा आँफूलाई पनि थाहा नभएका विषय सिप मेलामा देख्न पाउँदा निकै खुशी लागेको बताउँदै मेलामा उपस्थीत प्रत्येक विद्यालयलाई सहयोग स्वरुप दश हजार नगद दिने घोषणा गर्नुभएको थियो । 
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, कार्यापालिका सदस्य फूलमाया वि.क, जनज्योति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीधर ज्ञवाली, बालमैत्री परामर्श दाता खिमानन्द भुसाल, पत्रकार महासंघ नवलपुर जिल्ला अध्यक्ष श्रीराम सिग्देल लगायतले शुभकामना मन्तव्य राख्दै समाजमा चलिआएका पुर्ख्यौली सीपहरु समेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थीलाई सिकाएर व्यावहारिक बनाइएको देख्दा धेरै खुशी लागेको बताएका थिए । साथै वक्ताहरुले पराम्परागत वस्तुहरुको संरक्षण एवं सम्बद्र्धन गर्न पनि विद्यालयले प्राथामिकता दिएकोमा धन्यवाद व्यक्त गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै व्यवहारिक ज्ञान निरन्तरता दिन आग्रह गरेका थिए ।

‘विद्यार्थी सिप मेला’मा आफूहरुले बनाएका विभिन्न सामाग्री, विभिन्न पकवान, सिप, कला, ज्ञान देखाउन पाउँदा विद्यार्थीहरु खुशी देखिन्थे । समूहमा काम गर्दा धेरै कुरा सिक्ने र सिकाउन सकिने उनीहरुकाे भनाई छ । यसलाई भविष्यमा व्यवसायिक रुपमा पनि लैजान सकिने कुरा आँफूहरुलाई ज्ञान प्राप्त भएको विद्यार्थीहरुले अनुभव सुनाए ।

विद्यार्थी सिप मेलामा सहभागी सबै विद्यालयलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण जनज्योति नमूना मा.विका शिक्षक घनश्याम भुसालले गर्नुभएको थियो । विद्यार्थी सिप मेलामा छिमेकी पालिका शिक्षा शाखा, विद्यालयका विद्यार्थी, अभिभावकहरुले अवलोकन गरेका थिए । विद्यार्थी सिप मेलामा देवचुली नगरपालिकाका सामुदायिक र संस्थागत गरि २५ वटा विद्यालयको सहभागिता रहेको थियो ।