एभरेष्ट प्रिमियर लिग इपीएल खेल्न को को विदेशी खेलाडी आउँदैछन भन्नेमा ठुलो कौतुहल रहेको छ । केहि दिन अगाडी दक्षिण अफ्रिकी पूर्व कप्तान हसिम अमलालाई ल्याउने पक्का भएको खवरले तहल्का मच्चायो । यस्तैमा अर्का खेलाडी मोहम्मद सहजादपनि नेपाल आउने पक्का भएको छ । उनी इपीएलको फ्रेन्चाइजी टिम चितवन टाइगर्सबाट खेल्ने छन ।
अफगानिस्तानका विस्फोटक खेलाडी सहजादलाई चितवन टाइगर्सले नेपाल ल्याउने लागेको हो । उनी आउने पक्का भएपनि रकमका बारेमा केहि कुरा मिल्न बाँकी रहेको छ । हाल अफगानिस्तान टिमबाट बाहिर रहेका उनीसँगै चितवनले अघिल्लो संस्करणमा खेलाएका पउल स्ट्रलिङलाई पनि टिममा अनुबन्ध गरेको छ ।
दुबै खेलाडी नेपाल आउने पक्का जस्तै छ । नेप्लेजलाई प्राप्त जानकारी अनुसार चितवनले विदेशी खेलाडीमा अघिल्लो सिजनमा खेलेका इंग्ल्याण्डका खेलाडी जोन सिमसोन र जर्ज स्कटलाई यसपटक नल्याउने भएको छ ।
आयरल्याण्डका विस्फोटक ओपनर पउललाई चितवनले दोहोर्याउन लागेको हो । उनले अघिल्लो सिजनको इपीएलमा ६ खेलमा एक सय ५७ रन बनाएका थिए । जसमा उनको उच्च स्कोर ५५ रन थियो ।
यस्तै यसपटक नेपालमा खेल्न आउने विग स्टार मध्येका एक सहजादले अफगानिस्तानको टिमबाट दुई टेष्ट, ८४ एकदिवसिय, ६५ टी २० खेलिसकेका छन ।
जसमा उनले दुई टेष्टमा ६९ रन, ८४ एकदिवसियमा दुई हजार सात सय २७ रन बनाएका छन । जसमा १३१ उच्च स्कोर छ । यस्तै टी २० मा उनले ६५ खेलमा १९३६ रन बनाएका छन । जसमा उच्च स्कोर ११८ रन रहेको छ ।
पछिल्लो पटक उनले आबुदावीमा भएको टी १० लिग र बंगलादेश प्रिमियर लिगमा रंगपुर राइडर्सबाट खेलेका थिए । इपीएलका लागि चितवनले अष्ट्रेलियन प्रशिक्षक चाल्र्स बुर्कीलाई ल्याउने भएको छ ।