देवचुली नगरपालिकामा पुँजी बजारसम्बन्धी जानकारी र लगानीकर्ताको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ। शेयर बजारबारे सीमित जानकारीका कारण निष्क्रिय वा कम प्रतिफलमा रहेको स्थानीय पुँजीलाई सही दिशामा परिचालन गर्न सकिने सम्भावनालाई केन्द्रमा राख्दै कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा शेयर बजारको आधारभूत ज्ञान, लगानी गर्दा ध्यान दिनुपर्ने सावधानी, जोखिम व्यवस्थापन, दीर्घकालीन लगानीको महत्व तथा लगानीकर्ताको अधिकार र दायित्वबारे सरल भाषामा जानकारी प्रस्तुत गरिएको थियो। विशेषगरी ग्रामीण तथा नवप्रवेशी लगानीकर्तालाई लक्ष्य गरी पुँजी बजारलाई जुवा होइन, योजनाबद्ध र सचेत लगानीको माध्यमका रूपमा बुझाउने प्रयास गरिएको देखिन्थ्यो।

विश्व लगानीकर्ता सप्ताह २०२५ को सन्दर्भमा “जानकारी राखौं, सुरक्षित रहौं” भन्ने नारासहित सञ्चालन गरिएको यो कार्यक्रमले देवचुली जस्तो विकासोन्मुख स्थानीय तहमा पुँजी बजारप्रतिको बुझाइ विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा थियो। उद्योगी, व्यवसायी र विद्यार्थी गरी ८३ जनाको सहभागिताले स्थानीयस्तरमा लगानी चेतनाप्रतिको चासो बढ्दो रहेको संकेत गरेको छ।

आयोजकका अनुसार, यस्ता कार्यक्रमहरूले बैंक खातामै थन्किएको वा परम्परागत क्षेत्रमा मात्र सीमित पुँजीलाई धितोपत्र बजारतर्फ आकर्षित गरी सुरक्षित, पारदर्शी र प्रतिफलदायी लगानी संस्कार विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। कार्यक्रम नेपाल धितोपत्र बोर्डको आयोजना तथा देवचुली नगरपालिका, शनि सेक्युरिटिज ब्रोकर नै ४२ र देवचुली उद्योग वाणिज्य संघको सहकार्यमा सम्पन्न भएको हो ।