देवचुली,
दियो जनसेवा युवा क्लबको मिलिजुली देउसी –भैलो समूहले खानेपानी धारा निर्माण गरेको छ । देवचुली नगरपालिका वडा नं ८ आँपटारीको मिलिजुली देउसी भैलो समूहले नेपालीहरुको दोस्रो महान चाड तिहारमा देउसी भैलो खेलेर उठेको रकमले सामाजिक कार्यमा खर्च गरेको छ ।

समूहले देउसी खेलेर उठेको रकमबाट नमुना महिला सामुदायिक वन उपभोक्ता संस्था र जनचेतना सामुदायिक वन उपभोक्ता संस्थाका उपभोक्ताहरुलाई जंगलमा घाँस दाउरा गर्न जाँदा पिउने पानीको सहजताका लागि धारा निर्माण गरेको हो ।
पछिल्लो समय देउसीभैलोको नाममा विभिन्न विकृती फैलिरहँदा मिलिजुली समूहले देउसी खेलेको रकमले सामाजिक कार्यमा लगानी गर्दा समाजमा गतिलो सन्देश फैलिएको छ । करिब ६० हजार लागतमा निर्माण सम्पन्न गरिएको धारा बुधबार एक कार्यक्रमको आयोजना गरि समुद्घाटन गरिएको छ । देवचुली नगरपालिका वडा नं ८ का वडाध्यक्ष नुन प्रसाद बाचेको प्रमुख आतिथ्यतामा धारा समुद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बाचेले देउसीभैलो खेलेको रकमले सामाजिक कार्यमा अझै भनौँ मानव जिवनको महत्वपूर्ण विषय खानेपानीमा लगानी गरेको पाउँदा निकै खुशी लागेको बताउनुभएको थियो । उहाँले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलिने साथै अन्य व्यक्तिहरुले पनि यस्ता कुरा सिक्न प्रोत्साहन गर्ने हुँदा आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।
धारा निर्माणका लागि नमुना महिला सामुदायिक वन उपभोक्ता समिति देवचुली ७, ८ र ९ बाट १ सय ६० जनाको श्रमदान, धाराडी खानेपानी तथा सरसफाई उपभोक्ता समिति देवचुली ६ बाट निःशुल्क पिउने पानी , प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट १५० मिटरको पाइप सहित होडिङ्ग बोर्ड, दियो जनसेवा क्लब देवचुली ८ बाट धारा फिटिङ्ग सामाग्री र ५० भन्दा बढि व्यक्तिको आर्थिक सहयोगमा धारा निर्माण कार्य सम्पन्न भएको मिलिजुली समूहका संयोजक बल बहादुर फेवाली मगरले बताउनुभयो ।

उहाँले समूहले तिहारमा विभिन्न घरमा पुगेर देउसीभैलो खेलेर उक्त रकमलाई सहि ठाउँमा सदुपयोग गर्ने निर्णय भएसँगै धारा निर्माण गरिएको बताउनु्भयो । कार्यक्रममा देवचुली ९ का पूर्व वडा सदस्य रिल कुमारी तामाङ, धाराडी खानेपानीका अध्यक्ष जयराम श्रेष्ठ, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल र देवचुली वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटा लगायतले मिलिजुली देउसी भैलो समूहले गरेको कार्यको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा देवचुली वडा नं ७ का वडाध्यक्ष भुमिसरा आले, नमुना महिला सामुदायिक वनका अध्यक्ष बेलमती थापा, दियोजन जनसेवा क्लबका अध्यक्ष बुद्धि बहादुर फाल लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मिलिजुली समूहका संयोजक बल बहादुर फेवाली मगरको अध्यक्षता रहेको थियो । देवचुली वडा नं ९ का पूर्व वडाध्यक्ष मेखबहादुर सारु मगरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण कमल बाचेले गर्नुभएको थियो ।


