कोरोना भाइरस महामारीको दोस्रो लहरले एक महिनायता सारा नेपाललाई गाँजिरहेको छ।पछिल्ला केही अवधियता दैनिक औसता डेढ सयजनाले ज्यान गुमाइरहेका छन् भने ८ हजारभन्दा बढी संक्रमित भइरहेका छन्।
संक्रमितको ज्यान जोगाउन सरकारले पर्याप्तमात्रामा बेड, आइसियु, भेन्टिलेटर उपलब्ध गराउन सकेको छैन भने अक्सिजन अभाव अर्को विकराल समस्याका रूपमा खडा भएको छ।आममानिस मात्र नभई ‘फ्रन्टलाइन’ रहेर काम गर्ने स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम अति नै उच्च छ।
यिनै विषयमा रहेर केहि लेख्न मन लाग्यो ।
कोरोना महामारीमा सरकारका सबै संयन्त्र नाकाम भइरहेको अवस्थामा स्वास्थ्यकर्मीहरूले कस्तो दबाब खेप्नुपरेको छ ।अहिले स्वास्थ्यकर्मी जे गरिरहेका छन्। त्यही नै सबैभन्दा महत्वपूर्ण हो। स्वास्थ्यकर्मी सीमित नै छन्।
सरकारले कोरोना महामारी सुरु भएका बेला स्वास्थ्य संरचना थप्ने नीति तथा कार्यक्रम ल्यायो। तर, जनशक्तिको त्यति बेला पनि बोलेको थिएन। हामीले त्यसबेला के कमेन्ट गरेका थियौं भने भवन तथा बेड थपेरमात्र हुँदैन। भवनले मात्रै उपचार गर्ने होइन। उपचार गर्न स्वास्थ्यकर्मी चाहिन्छ।जुन बेला १५–१५ बेड गाउँ–गाउँमा थप्ने भनेर निर्णय गरिएको थियो। वीरमा तथा अन्य अस्पतालमा भवन थपिएका छन्। जनशक्ति पहिला नै कम थियो। त्यसमा थप गर्नुपर्ने थियो। तर, जहिले पनि करार र ज्यालादारीमा कर्मचारीलाई कहिलेसम्म सरकारले चलाउने हो भन्ने प्रश्न उठ्छ ।
योभन्दा अगाडि बेडको हाहाकार मच्चिएको थियो। अहिले आएर अक्सिजनको हाहाकार भएको छ। अब आउने दिनमा स्वास्थ्यकर्मीको हाहाकार हुनेछ। सरकार यतातिर बेड थपिएका छन्।अर्कोतर्फ संक्रमित थपिएका छन्। तर, जनशक्ति जहाँको तहीँ छ। हामीसँग भएका जनशक्ति पनि संक्रमित हुँदै गएका छन्। कतिपय स्वास्थ्यकर्मी थाक्दै पनि जान्छन्।
पहिला स्वास्थ्यकर्मीले आठ घन्टाको ड्युटी गर्थे। तर, अहिले निरन्तर ४८ घन्टासम्मको ड्युटी गरेका छन्। भोक, प्यास नभनी काम गरेका छन्।यसकारण थाकेर स्वास्थ्यकर्मी बिरामी पर्ने अवस्था आउँछ। सरकारले अब जनशक्ति चाँडै तयार नगरेको अवस्थामा भोलि ठूलो क्षति बेहोनुपर्ने हुन्छ।
स्वास्थ्यकर्मीले ठूलो भार थेगिरहेका छन्। ५० किलो बोक्न सक्ने मानिसलाई सय किलो बोकाउँदा ढाड भाँचिन्छ। हो, स्वास्थ्यकर्मीको परिस्थिति त्यस्तै छ।
हामी अहिले डरलाग्दो परिस्थितिमा छौं। यो समय भनेको सबै छाडेर महामारीविरुद्ध नै लड्नुपर्ने हो।
जसरी खोलाको बाँध टुट्न आँट्यो भने रातो खतराको ‘चिह्न’ हुन्छ, साइरन बजाइन्छ। सबै चिज छाडेर बाँध बान्नुपर्ने हुन्छ। समयमा नै बाँध बाँधिएन भने त्यसले गाउँ डुबाएर लैजान्छ। हो, अहिले कोरोनामा यस्तै परिस्थिति सिर्जना भएको छ।
हामीसँग भएका बेड, आइसियु र सरकारले उत्पादन गर्ने अक्सिजनभन्दा धेरै बिरामी भएका छन्। अनि सरकारले कसरी थेग्न सक्छ त!सरकारले थेग्न पनि सकेको छैन। हामीले देखिरहेका छौं, बिरामीले बेड पाएका छैनन्। आकस्मिक कक्षमा छटपटाइरहेका छन्। घरमा आत्तिएर अक्सिजन लगाएर, बेड पाइने आशमा बसिरहेका छन्।
भन्नुको मतलब, हाम्रो स्वास्थ्य संरचनाले पुगिरहेको छैन। यो समयमा बेड तथा अक्सिजन उत्पादन बढाउन सकिएन भने भोलि संरचना कमजोर नै हुन्छ।
चिकित्सक तथा स्वास्थ्यकर्मी बिरामीलाई उपचार गर्ने छाडेर अक्सिजन तथा बेड मिलाउनमै लाग्नुपरेको छ। सरकारले यस्ता कुराको व्यवस्थापन गरेको भए धेरैले ज्यान गुमाउनुपर्दैनथ्यो कि? यस्तो बेलामा स्वास्थ्यकर्मीको मानसिकता कस्तो हुन्छ?
स्वास्थ्यकर्मीले आफ्नो ड्युटीभन्दा पनि बढी समय दिएर बिरामी हेरिरहेका छन्। बिरामी छटपटाएको आँखै अगाडि टुलुटुलु हेरर बस्न सकिँदैन।
२४ घन्टा खटिएको दिमाग र फ्रेस दिमागले गर्ने काममा फरक नै पर्छ। तर, पनि अहिलेको परिस्थितिमा अन्य उपाय छैन।स्वास्थ्यकर्मीले यो परिस्थितिमा ठूलो धर्म मानेर, नैतिकवान भएर काम गरिहेका छन्। जतिसक्दो मरिमेटेर काम गरेका छन्।
स्वास्थ्यकर्मिहरूले अहिले न भत्ता भनेका छन्, न सुविधाको कुरा गरेका छन्। अहिले सबैको ध्यान बिरामीमा केन्द्रित छ। यो बिरामीलाई कसरी ठिक पार्न पाए हुन्थ्यो, कसरी अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ भनेर केन्द्रित छन्। अहिले यसैमा मात्रै स्वास्थ्यकर्मीको ध्यान तल्लिन छ।
स्वास्थ्यकर्मीले आफ्नो बारेमा नसोचेर केवल बिरामीको बारेमा मात्र सोचिरहेका छन्। यसरी खटिरहेका स्वास्थ्यकर्मी आफैं बिरामी पर्दा कहाँ जाने होला? भन्ने ठूलो तनावको विषय छ। दुरदराजमा बसेर काम गरिहेका स्वास्थ्यकर्मी बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने थप तनावको विषय छ।
त्यसैगरी, उपचार गरेर पनि नर्मल जीवन बाँच्न सकिएन भने त्यति बेला पुनस्र्थापना कसरी होला? कसले हेर्ला? भन्ने समस्या आइरहेका छन्। अघिल्लो वर्ष पनि धेरै स्वास्थ्यकर्मीले कोभिडबाट ज्यान गुमाउनपरेको थियो।
त्यतिबेला पनि कतिपय स्वास्थ्यकर्मीका परिवारले सरकारले घोषणा गरेको सुविधा पाउनुभएको छैन। हुन त सरकारले घोषणा गरेको २५ लाख थियो। तर, त्यसलाई जीवनसँग जोख्न मिल्दैन।यी सबै चिन्ता मनमा छन्। यी सबै कुराहरूलाई छाडेर स्वास्थ्यकर्मीहरूले दिनरात खटेर आफ्नो धर्म निभाइरहेका छन्। न निद्रा न भोक भनेर काममा लागेका छन्। यसरी कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने सबै स्वास्थ्यकर्मीको मनमा छ।
महामारीका बेला सबैभन्दा ठूलो कुरा स्वास्थ्यकर्मीको व्यवस्थापन हो। सरकार यो विषयमा किन चुकिरहेको छ?
पहिलादेखि नै हामीले बेड र अक्सिजनको व्यवस्था गरौं भनेर भनिरहेका थियौं। तर, सरकारको कोरोना छैन जसरी ध्यान अन्तै गयो। नभन्दै अहिले अक्सिजन र बेडको अभाव भयो। अहिले हामीले भनिरहेका छौं। अब चिकित्सक र स्वास्थ्यकर्मीको अभाव हुनेवाला छ।
जब संक्रमित परिचालन गर्न सक्दैनौं। जतिसुकै अक्सिजन तथा अस्पताल बढाए पनि कोरोनालाई नियन्त्रण गर्न सक्दैनौं। अहिले लकडाउन गर्दा पनि संक्रमणको दर रोक्न सकेका छैनौं।यो हाम्रो जीवनकालमा आएको सबैभन्दा ठूलो महामारी हो। यो भूम्कपभन्दा पनि ठूलो रहेछ। यो त दोस्रो–तेस्रो लहर आउन सक्छ। कहिले टुंगिन्छ भन्ने यकिन छैन। त्यसकारण कोरोनालाई पराजित गर्न सबैजना लड्नुपर्छ।