देवचुली
सरल नेपालद्वारा राष्ट्रियस्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ प्रतियोगिता आयोजना गरिने भएको छ । ‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
आइतबार नवलपुरको देवचुली नगरपालिका–१७ स्थित पिप्रहर सामुदायिक होमस्टेमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो । सरल नेपालका अनुसार लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा आयोजना हुने प्रतियोगिताले देशभरका युवालाई एउटै डिजिटल मञ्चमा जोड्ने लक्ष्य लिएको छ ।
प्रतियोगितामा १५ देखि २९ वर्ष उमेर समूहका युवाहरूले सहभागिता जनाउन सक्नेछन् । मोबाइल वा ल्यापटप तथा इन्टरनेट सुविधा भएका सार्वजनिक बोलाइमा रुचि राख्ने युवाहरूका लागि यो कार्यक्रम नेतृत्व विकास, सञ्चार सीप र आत्मविश्वास अभिवृद्धिमा केन्द्रित रहने आयोजकले जनाएको छ ।

प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरण पूर्ण रूपमा खुला रहनेछ भने सहभागीहरूले आफूले चाहेको कुनै पनि विषयमा भिडियो प्रस्तुत गर्न सक्नेछन् । उक्त चरणबाट आयोजकले देशभरबाट प्राप्त भिडियोहरूको मूल्याङ्कन गरी उत्कृष्ट २० जना प्रतियोगी दोस्रो चरणका लागि छनोट गर्नेछ ।
दोस्रो चरणमा आयोजकले प्रदान गर्ने शीर्षकमा आधारित भिडियो तयार गरी पठाउनुपर्नेछ, जसका लागि १५ दिनको समय दिइनेछ । दोस्रो चरणका भिडियोहरू सरल नेपालका आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरिनेछ । यस चरणको मूल्याङ्कन ५० प्रतिशत सामाजिक सञ्जालमा देखिएको लोकप्रियता र ५० प्रतिशत निर्णायक मण्डलको निर्णयका आधारमा गरिने आयोजकले जानकारी दिएको छ । यस चरणबाट उत्कृष्ट पाँच जना अन्तिम चरणका लागि छनोट हुनेछन् ।
अन्तिम चरणबाट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताको घोषणा गरिनेछ । प्रथम हुनेले नगद ३० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल, दोस्रो हुनेले २० हजार रुपैयाँ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको समापन कार्यक्रम २०८२ साल माघ ०४ गते आइतबार गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको देवचुली नगरपालिका–१७ स्थित पिप्रहर सामुदायिक होमस्टेमा आयोजना गरिने आयोजकले जनाएको छ ।
सरल नेपालले यस कार्यक्रमले युवाहरूलाई सामाजिक परिवर्तनका वाहकका रूपमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ ।