देवचुली
सामुदायिक कुकुरहरुको बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ। गत मङ्सिर २१ देखि २४ गते सम्म संचालन भएको बन्ध्याकरण कार्यक्रममा भाले पोथी दुबै गरि ५ सय कुकुरहरुको बन्ध्याकरण गरिएको छ।
कार्यक्रमको पहिलो दिन १ सय ५ , दोश्रो दिन १ सय ७० , तेश्रो दिन १ सय ६८ र चौथो दिन ५७ गरि जम्मा ५ सय कुकुरहरुको बन्ध्याकरण गरिएको देवचुली नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. रसिक सुवेदीले हेर्नेपाटीलाई जानकारी दिएका छन्।

देबचुली नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत मिकु भेट सेन्टरको सहयोगमा यस कार्यक्रमलाई सम्पन्न गरिएको हो। ४ दिन सम्म संचालन भएको बन्ध्याकरण कार्यक्रममा डा. राजेश थारु, डा. मिलन खनाल , डा. प्रशान्त घिमिरे, डा. गोपाल गिरि, डा. रिचा फुयाल र देवचुली पशु सेवा शाखाका प्रमुख डा. रसिक सुवेदी लगायतको टोलीले देवचुली नगरपालिका भरिको कुकुर समातेर बन्ध्याकरण गरेका हुन् ।
देवचुली १५ को वडा कार्यालय परिसरमा बन्ध्याकरण गरिएका कुकुरहरुलाई रेबिज बिरुद्धको खोप र बाह्य परजीवी विरुद्धको औषधि दिइएको डा. रसिक सुवेदीले बताएका छन्।

उनले बिश्व पशु स्वास्थ्य संगठनले रेबिज रोग लाई सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्य लिएकोमा देवचुली नगरपालिकाले पनि यस कार्यक्रमलाई सफल बनाउन सहयोग गरेको बताएका हुन्। यसै अन्तर्गत रोग बिरुद्ध को खोप लगाउने, जनचेतना बढाउने र छाडा कुकुर हरुको संख्या न्यूनीकरण कार्यक्रमहरु रहेका छन् भने पशु सेवा शाखा रजरमा पशुहरुलाई रेबिज बिरुद्ध को खोप निशुल्क व्यवस्था समेत गरिएको छ।

पछिल्लो समय पालिका भित्रका विभिन्न स्कुलहरुमा रेबिज बिरुद्धको जनचेतना मुलक कार्यक्रमहरु सन्चालन समेत भएका छन्। बन्ध्याकरण कार्यक्रममा ल्याएर बन्ध्याकरण गरिएका कुकुरहरुलाई जहाँ बाट उठाइएको हो सोही स्थानमा लगेर छोडिएको छ।