महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा उच्च स्थानमा रहेको देवचुली डाँडाको पर्यापर्यटन विकासको सम्भावना र चुनौती सम्बन्धमा अन्तरक्रिया तथा प्यानल छलफल गरिएको छ। समुद्री सतहबाट १ हजार ९ सय ३८ मिटरको उचाइमा रहेको देवचुली डाँडामा पूर्वाधार विकास, पर्यटक लक्षित सूचना केन्द्र तथा प्रचारप्रसारका लागि सो कार्यक्रमको आयोजना गरिएको हो। देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता गण्डकी प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसीले गर्नुभएको थियो। कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले देवचुली डाँडामा पर्यटकीय गतिविधि सञ्चालनका लागि गरेका प्रयास, विभिन्न समयमा विनियोजित बजेटबाट भए गरेका विकास निर्माणका काम र भावी योजनाका बारेमा कार्यक्रममा स्वागत सहित प्रकाश पार्नुभएको थियो।
-1764300173.jpeg)

कार्यक्रमको अध्यक्षता गर्नुभएका देवचुली नगरपालिकाका नगरप्रमुख न्यौपानेले देवचुली डाँडा देवचुली नगरपालिका र बुलिङटार गाउँपालिकाको सिमाना क्षेत्रमा पर्ने भएकाले दुवै पालिकाले आपसी छलफल गरी गुरु योजना बनाई काम गर्ने बताउनुभयो उहाँले पछिल्ला वर्षहरूमा देवचुली डाँडामा trekking गर्न आउने आन्तरिक पर्यटकहरू नवलपुर जिल्लाभन्दा बाहिरबाट पनि आउने गरेकाले उनीहरूको आवास, खानपान र सुरक्षाको प्रबन्ध गर्नुपर्ने भन्दै नगरपालिकाले विभिन्न चरणमा कामहरू गरिरहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले गर्नुभएको थियो।

देवचुली डाँडाको प्रचारप्रसारका लागि प्यानल छलफल
पछिल्लो वर्ष यता देवचुली डाँडामा आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएसँगै देवचुली नगरपालिकाको पहलकदमीमा डाँडाकै फेदी बर्दाजुरेमा प्यानल छलफल गरिएको छ ।

प्यानल छलफलमा संविधानसभा सदस्य तथा गण्डकी प्रदेश सभा नवलपुर क्षेत्र नम्बर १ का सांसद महेन्द्रध्वज जिसी नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भविष्य पाण्डे र देवचुली नगरपालिकाका नगरप्रवक्ता तिलप्रसाद काफ्लेको सहभागिता रहेको थियो। प्यानल छलफललाई ह्याप्पी एफएमका स्टेसन म्यानेजर आदर्श सुशीलले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा आफ्ना विचार राख्नुहुँदै प्रदेश सभा सदस्यले महेन्द्रध्वज जिसीले देवचुली डाँडाको पर्यटन विकास पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरिरहेको बताउँदै प्रदेश सरकारबाट प्राप्त बजेट पर्याप्त नभएको बताउनुभयो। उहाँले देवचुली डाँडा देवचुली नगरपालिका र बुलिङटार गाउँपालिकाको मात्रै नभई समग्र नवलपुर जिल्लाको पर्यटनको केन्द्र भएकाले सबै पालिकाले उत्तिकै महत्व दिनुपर्ने बताउनुभयो नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले आँफू नवलपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर आएपछि देवचुली डाँडाको अवलोकन गरेको स्मरण गर्दै डाँडामा फोहोरमैला व्यवस्थापन र सुरक्षा चुनौती रहेको बताउनुभयो उहाँले देवचुली डाँडामा घुम्न आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएसँगै सुरक्षा चुनौती पनि बढेकाले स्थानीय तहहरूसँग समन्वय गरी थप सुरक्षाको प्रबन्ध गरिने बताउनुभयो। यसैगरी प्यानल छलफलमा वक्ताका रुपमा रहनुभएका देवचुली नगरपालिकाका नगर प्रवक्ता तिलप्रसाद काफ्लेले देवचुली डाँडा घुम्न आउने पर्यटकहरूको अभिलेखीकरणका लागि काम गरिरहेको बताउनुभयो। उहाँले नगरपालिकाले डाँडामा खानेपानी तथा अन्य पूर्वाधारहरूको विकास गरिरहेको स्मरण गर्दै थप प्रवर्धनात्मक कार्यक्रमहरू गरिने बताउनुभयो उहाँले देवचुली डाँडाबाट उच्च गुणस्तरीय बाइनाकुलर प्रयोग गरेर उत्तरतर्फ हिमालमा चौरी चरेको र दक्षिणमा निकुञ्जमा गैंडा चरेको एकैपटक हेर्न सकिने बताउँदै देवचुली डाँडाको चुचुरोमा थप आकर्षणका केन्द्रहरू निर्माण गरिने बताउनुभयो ।



प्यानल छलफल कार्यक्रममा सिसवार मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव सत्यराज अधिकारी, देवचुली नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट, वडा नम्बर ६ का वडाध्यक्ष मिनबहादुर सोती मगर र पत्रकार राजु चापागाईंले आफ्ना सुझाव सहितका धारणा राख्नुभएको थियो। देवचुली डाँडाको पर्यापर्यटनको विकासका लागि गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक युवराज खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय नवलपुरका प्रमुख, देवचुली नगरपालिकाका निर्वाचित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।