देवचुली
नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सुरक्षा योजना उपसमितिले खानेपानीको अनुगमन गरेको छ।
उपसमितिले सेवा क्षेत्रभित्रका सामाजिक संघसंस्था, सामुदायिक तथा संस्थागत विद्यालय, वडा कार्यालय, अस्पताल, मठ, मन्दिर, चर्च लगायत सार्वजनिक सरोकारका निकायहरुमा खानेपानीको अवस्थाका बारेमा अनुगमन गरेको हो।

खानेपानी सुरक्षा योजना उपसमितिका पदाधिकारीहरूको सक्रियतामा खानेपानी संस्थाका सेवा क्षेत्रभित्रको सार्वजनिक संस्थामा पुगी सो संस्थामा रहेको खानेपानीको ट्याङ्कीको अवस्था, सरसफाई अनुगमन, पानीको नमुना सङ्कलन, सुझाव संकलन तथा अभिमुखीकरण र सचेतनाको कार्यक्रम गरेको हो।

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सुरक्षा योजना उपसमितिले खानेपानीको परीक्षण, सुझाव संकलनका साथमा नियमित रुपमा उपभोक्ताहरूसँग अन्तरक्रियाहरू पनि गर्दै आइरहेको छ।

खानेपानी स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएको र संवेदनशील समेत भएकाले सुरक्षा योजना उपसमितिले हरबखत उपभोक्ताले पिउने पानीको गुणस्तर जाँच गर्दै आइरहेको सुरक्षा योजना उपसमितिका संयोजक कृष्णबहादुर थापाले हेर्ने पार्टीलाई जानकारी दिनुभयो।