देवचुली, कार्तिक-२३,
स्टेजमा हुने सांस्कृतिक कार्यक्रमहरूलाई मनोरञ्जनात्मक र दृष्टिपरक बनाउने भनेको कार्यक्रमको उद्घोषकले हो। कुनै पनि कार्यक्रमको उद्घोषक उक्त कार्यक्रमको मुटु नै हो। एक सफल र सक्षम उद्घोषकले दर्शक दीर्घालाई बाँधेर राख्न सक्छ र कार्यक्रमको उद्देश्य र उत्कृष्टतालाई उजागर गर्छ। कुशल कार्यक्रम प्रस्तोताले कार्यक्रमको इज्जत नै धानेको हुन्छ भन्दा अत्युक्ति पक्कै हुँदैन। उद्घोषकले बोल्न मात्रै जानेर हुँदैन। कार्यक्रमको मर्म, दर्शकको चाहना, अतिथिहरूको मनोभावना, कार्यक्रमको समय, वस्तुगत स्थिति र कार्यक्रमको गाम्भीर्यतालाई पनि मनन गर्नुपर्ने हुन्छ। एक सफल उद्घोषकले नदी वा तलाउमा शयर गरिरहेको ढुङ्गालाई डुब्ने वा उतार्ने भन्ने श्रेय बोकेको हुन्छ। अर्थात् कार्यक्रमलाई सफल बनाउने वा विफल बनाउने मुख्यतया उद्घोषकको कुशलता र कार्यक्षमतामा निर्भर रहन्छ।

पछिल्लो समय नवलपुर जिल्लाका मात्र नभई देशका विभिन्न सांस्कृतिक, धार्मिक वा अन्य कार्यक्रमहरुमा नवलपुरका उद्घोषकहरुले आफ्नो स्थान जमाइरहेका छन् । कार्यक्रम सञ्चालनका लागि उद्घोषक खोज्नुपर्दा यतिबेला धेरैको मुखमा आउने नाम भनेको सञ्जय देवकोटा, दीप काफ्ले र अर्जुन कंडेल नै हो। यी तीन उद्घोषकहरुले यतिबेला आँफूहरुलाई सांस्कृतिक तथा सांगेतिक कार्यक्रमको ३ खम्बाका रूपमा उभ्याइरहेका छन्। को हुन् त यी कार्यक्रमका केन्द्रबिन्दु सञ्जय, दीप र अर्जुन?
सञ्जय देवकोटा
पछिल्ला वर्षहरूमा सांगेतिक र साँस्कृतिक कार्यक्रमको उद्घोषणको पाटो सम्हाल्ने चर्चा हुँदा सबैभन्दा अग्रस्थानमा आउने नाम हो सञ्जय देवकोटा।

आँफूलाई कार्यक्रम सञ्चालक, गायक, मोडल तथा सोसल मिडिया एक्टिभिस्टका रूपमा अगाडी बढाइरहेका सञ्जय देवकोटाको जन्म वि.सं. २०५३ चैत्र २८ गते गैंडाकोट १४ नगरटाँडीमा भएको हो । प्रारम्भिक शिक्षा विजयज्योति आधारभूत विद्यालय र त्यसपछि लक्ष्मी माध्यमिक विद्यालय, जनमुखी आदर्श बहुमुखी क्याम्पस हुँदै मध्यबिन्दु बहुमुखी क्याम्पसमा उनले आफ्नो उच्च शिक्षा हासिल गरेका हुन् । हाल मास्टर्स अध्ययन गर्दै गरेका सञ्जयले गाउँकै नगरटाँडी युवा क्लबको दिपावली सांस्कृतिक साँझबाट वि.सं. २०७४ सालमा कार्यक्रम सञ्चालकका रुपमा जिम्मेवारी लिन थालेका हुन् । सञ्जय देवकोटाले हाल नेपालका ठूला महोत्सव मध्येको चितवन महोत्सव, बुटवल औद्योगिक प्रदर्शनी, तारकेश्वर महोत्सव, नवलपुर जिल्लाका नवलपुर महोत्सव, देवचुली महोत्सव, पिप्रहर माघी मेला, गैंडाकोट महोत्सव, मध्यबिन्दु महोत्सव, जेसिस महोत्सव लगायत पोखरामा सञ्चालन भएको टाइगर कप र नेपाल गोल्डेन आइडलमा उद्घोषण गरि सफल उद्घोषकका रुपमा स्थापित गरिसकेका छन् । सञ्जयले मिस्टर एण्ड मिस नवलपुर, डान्स आइडल लगायत कतारमा समेत उद्घोषकको जिम्मेवारी बहन गरिसकेका छन्। उनले १ हजारभन्दा बढी स्टेजमा उद्घोषकको भूमिका निभाइसकेका छन्।


सानै उमेरदेखि लोकदोहोरी गाउन रुचि राख्ने सञ्जयले गीत गाउने प्रेरणा भने बुवाबाट प्राप्त गरेका हुन् । सञ्जय सानै छँदा बुबाले गीत लेख्ने र उनले गुनगुनाउने गर्दथे। उनी हाल पर्फर्मर दुर्गेश थापाको म्यानेजरको रुपमा पनि काम गरिरहेका छन् । सञ्जय देवकोटा एक सफल उद्घोषकका साथमा गायक समेत हुन्। उनले कुरा बुझ्देउ न, आँखा जुध्यो र सोल्टी सोल्टिना गीत बजारमा ल्याइसकेका छन् । मोडलका रूपमा उनले बिहेको निम्तो गीतमा मोडलिङ समेत गरेका छन्। तीनवटा गीत बजारमा ल्याइसकेका सञ्जयले तीनवटा अवार्ड समेत हात पारिसकेका छन् । उनले बिन्दबासिनी म्युजिक अवार्ड, विशाल म्युजिक अवार्ड र तेस्रो राष्ट्रिय संगीत अवार्ड पाइसकेका छन् । गतवर्ष फागुनमा अरुणखोला निवासी प्रिन्सी काफ्लेसँग विवाह बन्धनमा बाँधिएका सञ्जय देवकोटा हाल देशभित्र मात्र नभई देश बाहिर पनि "डिमान्डेड एङ्कर"को रुपमा स्थापित भइसकेका छन्। कतारको सांगीतिक कार्यक्रममा उद्घोषकका रूपमा पुगेका उनी दुर्गेश थापाको टिममा केही समयमा युरोप टुरमा निस्किँदैछन् । उनले युरोपको डेनमार्क, माल्टा, क्रोएसिया, पोर्चुगल जस्ता देशमा आफ्ना केही सांगीतिक र उद्घोषणको पाटो सम्हाल्नेछन् ।


दीप काफ्ले
नेपालमा हुने धार्मिक कार्यक्रम, सप्ताह, महायज्ञ, कोटीहोम, श्रीमद्भागवत जस्ता कार्यक्रमहरूमा उद्घोषकका रूपमा सुनिने पछिल्लो समयका जल्दाबल्दा उद्घोषक हुन् दीप काफ्ले ।

नवलपुरको कावासोती ६ पूर्वटोलमा विसं २०५३ साल असोजमा जन्मिएका दीप काफ्लेले २०७५ सालबाट गाउँकै स्थानीय दुर्गा भवानी मन्दिरको धार्मिक कार्यक्रमबाट उद्घोषणको यात्रा सुरु गरेका हुन् । कार्यक्रम सञ्चालकका साथमा भजन गायकका रूपमा समेत स्थापित दीपले हार्मोनियम र मुजुरा बजाउन दख्खल राख्छन्। दीप काफ्लेले चन्द्रौटा महोत्सवबाट औपचारिक रूपमा ठूला कार्यक्रमको उद्घोषकका रुपमा आफूलाई उभ्याएका हुन्। उनले काठमाडौँको पशुपतिमा सञ्चालन भएको पशुपति कोटीहोमको दुईवटा संस्करण, पोखराको गण्डकी कोटीहोमका साथमा भारतको उत्तर प्रदेश नैमीसारम्यमा सम्पन्न धार्मिक कार्यक्रममा समेत कार्यक्रम सञ्चालक र भजन गायकका रुपमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेका छन् । उद्घोषणको यात्रामा डिटिएम मिडियाका सञ्चालक दिपेन्द्र थापा मगरलाई अभिभावकका रुपमा सम्झने दीपले थुप्रै सांस्कृतिक कार्यक्रममा समेत उद्घोषण गरिसकेका छन्।


उनले दाङको गडुवा गाउँपालिकामा आयोजित धार्मिक कार्यक्रम, चितवन महोत्सव, बुटवल औद्योगिक प्रदर्शनी, बुटवल पिस पार्क महोत्सव, तारकेश्वर महोत्सव, स्वयम्भू महोत्सव, मूलपानी महोत्सव जस्ता एक हजारभन्दा बढी स्टेजमा कार्यक्रम सञ्चालकको रुपमा उक्लिसकेका छन्। मामाघरको हजुरबुवाले हार्मोनियम सिकाएपछि पहिलोपटक १२ घण्टाको अखण्ड कीर्तन गर्दा २०० रुपैयाँ पारिश्रमिक पाएको दीप सम्झन्छन्। धार्मिक कार्यक्रमका एक सफल उद्घोषकको रुपमा आँफूलाई स्थापित गरेका दीप काफ्लेले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन्। गाउँकै स्थानीय एभरेस्ट बोर्डिङबाट प्रारम्भिक शिक्षा सुरु गरेका दीपले समता शिक्षा निकेतन, एपेक्स एकेडेमी चितवन हुँदै काठमाडौँको शंकरदेव क्याम्पसबाट ब्याचलरसम्मको अध्ययन गरेका छन्। वि.सं. २०८१ साल फागुनमा बुटवल निवासी दिव्या ढकालसँग वैवाहिक जीवनमा बाँधिएका दीप पछिल्लो पुस्ताका धार्मिक कार्यक्रमको उद्घोषक र भजन गायकका रुपमा समेत पहिलो रोजाईका उद्घोषक हुन्।


अर्जुन कंडेल
कदमा सञ्जय देवकोटा र दीप काफ्ले भन्दा केही होचा तर स्टेजमा कार्यक्रम सञ्चालनको कद भने उनीहरू जतिकै सफल र सक्षम बनाउन क्रियाशील अर्का उद्घोषक हुन् अर्जुन कंडेल।

वि.सं. २०५४ साल पौष ७ गते गैंडाकोट नगरपालिका १५ मेझीमा जन्मिएका अर्जुन कंडेल पछिल्लो समय नवलपुर लगायत देशका विभिन्न स्थानमा हुने साना ठूला सांस्कृतिक र सांगेतिक कार्यक्रममा रोजाईका उद्घोषक हुन्। मिठो बोली र नम्र स्वभावका अर्जुनले पछिल्लो समय सांस्कृतिक र सांगेतिक कार्यक्रमको बागडोर सम्हालिरहेका छन् । विसं २०७१ सालमा गाउँकै स्थानीय ध्रुवतारा युवा क्लबको देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा उद्घोषणको जिम्मा सम्हालेपछि उनले लगातार रुपमा स्टेजमा आँफूलाई उभ्याइरहेका छन् । जीवनको केही समय शिक्षण पेशा समेत गरेका अर्जुनले देशभरका ६ सयभन्दा बढी स्टेजहरूमा कार्यक्रम सञ्चालकका रुपमा आफ्नो कुशलता देखाइसकेका छन्। नवलपुर जिल्लाका विष्णुनगर दशैं मेला, जेसिज महोत्सव, नवलपुर महोत्सव, पिप्रहर माघी मेला, गैंडाकोट महोत्सव, धादिङको सल्यानटार महोत्सव, मकवानपुरको मनहरी महोत्सव, बुटवलको बुटवल औद्योगिक प्रदर्शनीमा मात्र नभई नवलपुर जिल्लामा सञ्चालन भएको ट्यालेन्ट हन्ट किङ एन्ड क्विन्ट अफ नवलपुर समेत सञ्चालन गरिसकेका छन्। उनले पश्चिम नवलपरासीको बर्दघाटमा द फेसन आइकन समेत सफलताका रुपमा सञ्चालन गरिसकेका छन् । कार्यक्रम सञ्चालकका साथमा म्युजिक भिडियो निर्देशन समेत गर्दै आएका अर्जुनले तीनवटा गीतको निर्देशकका रूपमा स्थापित भइसकेका छन्। उनले गायक सञ्जय देवकोटाको कुरा बुझ्देउ न, आँखा जुध्यो र गायक भुवन लोहनीको काउकुती लाग्छ जस्ता गीतमा निर्देशन गरिसकेका छन् । थुप्रै गीतमा सहायक निर्देशक भएर काम गरिसकेका अर्जुनले भजन गायक रेशम सापकोटाको श्री स्वस्थानी व्रतकथामा मोडलिङ समेत गरेका छन् ।


गाउँकै स्थानीय अमरज्योति माध्यमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गरेका अर्जुनले बालविकास कलेज अफ साइन्स एन्ड म्यानेजमेन्ट, देवचुली कलेज र मध्यबिन्दु कलेजबाट मास्टर्ससम्मको अध्ययन पुरा गरिसकेका छन्। अर्जुन कंडेल कुशल सञ्चालक मात्र होइनन् उनी कुशल ग्राफिक्स डिजाइनर समेत हुन् । उनको "एउटा डिजाइन" नामको ग्राफिक्स कम्पनी र "आमाछोरा प्रोडक्सन" नामको टिकटक एकाउन्ट समेत रहेको छ। जहाँ उनले कमेडी फ्लेभरको शिक्षामूलक भिडियोहरू राख्ने गर्छन्। उनले पछिल्लो समय दैनिक रूपमा भ्लगहरू पनि अपलोड गर्ने गरेका छन्। उनलाई पछिल्लो समय "भ्लगवाला भाइ"का रूपमा समेत चिन्ने गरिएको छ। उनी डिटिएम खबर अनलाइनका सम्पादक समेत हुन् । चाहे साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रममा उद्घोषण गर्न होस्, चाहे कुनै संस्था, कम्पनी, व्यवसायको व्यापार प्रवर्द्धन गर्न होस्, उनी जहाँ पनि फिट हुने गर्छन् । नवलपुर जिल्लाको माटोले जन्माएको एक कुशल कार्यक्रम सञ्चालकका रूपमा स्थापित हुँदै देशभरका विभिन्न मेला महोत्सव, प्रदर्शनीहरूमा छाइरहेका छन् अर्जुन कंडेल।


सबैको रोजाई: सरल, सहज र मिजासका त्रिमूर्ति
नवलपुरको माटोमा जन्मिएका सञ्जय देवकोटा, दीप काफ्ले र अर्जुन कंडेल-यी तीनैजना उद्घोषकहरु स्वभावैले सरल मिजासका छन् । यिनीहरुको बोलीमा नम्रता छ, सम्मान छ र वस्तुगत अवस्थालाई बुझ्न सक्ने ब्रह्म छ। कुनै पनि कार्यक्रम सञ्चालनका लागि यी तीन उद्घोषक कहिले छुट्टाछुट्टै त कहिले एकैसाथ देखापर्ने गर्छन्। एउटै पेशामा उस्तै प्रकृतिको काम गरिरहेकाहरूमा प्राय अस्वस्थ प्रतिस्पर्धा देखिन्छ तर यी तीन उद्घोषकको पेशा पनि एउटै छ, स्वभाव पनि एउटै छ, मन पनि एउटै छ र लक्ष्य पनि एउटै छ । त्यो हो कार्यक्रम समापन भएपछि सबैले सम्झिरहने र सबैलाई सम्झना दिलाइरहने बन्न सकियोस्।

यी तीनैजना कुशल उद्घोषकहरूलाई हाम्रो सप्रेम शुभकामना।