देवचुली
सदाका वर्षहरु जस्तै यस वर्ष पनि नारायणी नदि किनार देवचुली १ केउरेनीमा १० औं एकादशी सांस्कृतिक रमाइलो तथा पर्यटन मेला-२०८२ लाग्ने भएको छ। पर्यटन प्रवर्द्धन र संस्कृति संरक्षणका लागि भन्ने मूल नारा सहित मेलालाई यस पटक कार्तिक १४ गते देखि १६ गते सम्म फरक र पृथक तरिकाबाट निरन्तरता दिईने आयोजकले जनाएको छ ।

मेलाको माध्यमबाट धर्म संस्कृतिको जगेर्ना संगसंगै आन्तरिक र बाह्य पर्यटकको आगमनले यश क्षेत्रको विकाशमा टेवा पुर्याउने लक्ष्य राखिएको आयोजक दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह देवचुली १ र २ ले जानकारी दिएको हो। हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएका कारण विशेषगरि हिन्दु धर्मावलम्विहरुले विष्णु भगवानको पुजा आरधना गर्ने , नारायणीमा स्नान गर्ने , तोरण तार्ने समेत गर्दछन् ।

मेलाको आकर्षणको रुपमा यस वर्ष सुरक्षित मनोरञ्जनात्मक खेल सामग्री-बाल उद्यान ,स्थानीय जातजातिका मौलिक सांस्कृतिक प्रस्तुती , स्थानीय कृषि उपजको प्रदर्शनात्मक बिक्री स्टलहरू, स्थानीय व्यापारी व्यवसायका स्टलहरू , विभिन्न जातजाति विशेषका खानाका परिकार / ग्राहकको रोजाइका परिकारहरू जैविक पर्यटकीय प्रवर्द्धन, मानव-वन्यजन्तु द्वन्द्व न्यूतीकरण, प्रकृति संरक्षण र धार्मिक गन्तव्यको प्रचार प्रसार केन्द्रित सूचना सचेतना केन्द्र , जिप सफारी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती प्रस्तुति रहने जनाईएको छ ।

तिन दिन सम्म संचालन हुने १० औं एकादशी सांस्कृतिक रमाइलो तथा पर्यटन मेला-२०८२ मा चर्चित लोक गायक पशुपति शर्मा , लोक गायिका शान्ति श्री परियार , गायक श्याम राना मगर सहित नेपालि चलचित्र मन बिनाको धनको कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहने मेलाको साँस्कृतिक तथा कलाकार संयोजक विरेन्द्र सुनारले जानकारी दिएका छन्।