देवचुली
नवलपुरको देवचुली नगरपालिका १३ दलदलेमा रहेको प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाले ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सोमबार संस्थाले साहारा पार्टी प्यालेसमा साधारण सभा सम्पन्न गरेको हो। साधारण सभाको अध्यक्षता संस्थाकी अध्यक्ष रुमाकला काफ्लेले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला कृषि सहकारी संघ नवलपुरकी अध्यक्ष सबिना अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले प्रगतिनगर साना किसान कृषि सहकारी संस्थाले देवचुली नगरपालिकामा मात्रै नभई देशमै उत्कृष्ट कृषि सहकारीको रुपमा काम गरेको बताउनुभयो । उहाँले प्रगतिनगर कृषि सहकारी संस्थाको विकास र सेयर सदस्य मैत्री कार्यक्रमहरूले आँफूलाई उत्साही बनाएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य इन्द्रमणि भुसाल, महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष सरिता शर्मा, संस्थाकी सेयर सदस्य भूमा कंडेल र संस्थामा आबद्ध माध्यमिक शिक्षा परीक्षा एसइइमा ४ जीपीए ल्याउने भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयकी सिम्जना भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

११ औं वार्षिक साधारण सभामा संस्थाकी अध्यक्ष रुमाकला काफ्लेले संस्थाको प्रगति प्रतिवेदन, लेखा समिति संयोजक बालकुमारी रिमालले लेखा प्रतिवेदन, पशुधन सुरक्षण उपसमितिकी संयोजक जानुका लम्सालले पशुधन प्रतिवेदन र संस्थाकी व्यवस्थापक बिमला गैरेले बाह्य लेखा र बजेटको प्रतिवेदन वाचन गरी सेयर सदस्यलाई सुनाउनुभएको थियो ।
११ औं साधारण सभामा विभिन्न व्यक्ति र समूहलाई समेत पुरस्कृत गरिएको थियो। सो अवसरमा भैँसीपालनतर्फ देवचुली ७ के सीता पाण्डे, गाईपालनतर्फ देवचुली १३ कि गीता बराल पौडेल, बाख्रा पालनतर्फ देवचुली १२ की भूमा कंडेल, मौरी पालनतर्फ देवचुली ९ की धनमाया कडरिया, बङ्गुरपालनतर्फ देवचुली १३की धनमाया लुंगेली मगर र कुखुरा पालनतर्फ देवचुली ७ कि कमला खरेललाई पुरस्कृत गरिएको थियो ।

यसैगरी दैनिकी बचत नियमिततर्फ देवचुली ११ की शारदा पाठक, बाल बचततर्फ देवचुली १३ का संगम राना, वृद्ध सदस्यतर्फ देवचुली १४ कि टेकमाया घर्ती, उत्कृष्ट बचतकर्ता देवचुली १० कि प्रेमा रेग्मी, धितो कारोबार नियमिततर्फ देवचुली १४ कि पदमा विक र देवचुली १२ की अन्जु पराजुली, एसइइ परीक्षामा ४ जीपीए ल्याउने जनज्योति नमूना माविकी अन्जु श्रेष्ठ र भीमसेन आदर्श नमूना माविकी सिम्जना भट्टराई र बिना धितो लगानीतर्फ देवचुली १२ की नेत्रकला भुसाल र देवचुली १४ की लक्ष्मी भण्डारी, सदस्य वृद्धितर्फ देवचुली १४ कि गीता भट्टराई र उत्कृष्ट अन्तरसमूहको शतप्रतिशत असुलीतर्फ देवचुली १३ को अन्तरसमूह १, देवचुली ७ को अन्तरसमूह ६ र ११ र देवचुली १५ को अन्तरसमूह १० लाई पुरस्कृत गरिएको थियो।

संस्थाकी उपाध्यक्ष कमला भट्टराई शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाकी व्यवस्थापक बिमला गैरेले गर्नुभएको थियो। प्रगतिनगर साना किसान कृषि सहकारी संस्थामा हाल २ सय ८४ समूह र १ हजार ६ सय ४ जना सेयर सदस्य रहनुभएको छ।