देवचुली, भदाै–१०,
हरितालिका तीजको अवसर पारेर प्रगतिकला मन्दिर युवा क्लबले आयोजना गरेको खुला तीजगीत प्रतियोगिता मंगलबार जनज्योति नमुना माध्यमिक विद्यालयको खुल्ला चाैरमा सम्पन्न भएको छ । भाद्र २ गतेदेखि सुरु भएको तीज महोत्सवको विशेष आकर्षणस्वरूप तीजगीत तथा छेलो फाल्ने प्रतियोगिता गरिएको हो ।
तीजगीत प्रतियोगितामा देवचुली–५ स्थित राधा कृष्ण मन्दिर समितिले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हात पारेको छ । यस्तै देवचुली–१२ को हरियाली आमा समूह द्वितीय, देवचुली–१० को पाण्डे परिवार समूह तृतीय र देवचुली–७ को जनविकास आमा समूह सान्त्वना स्थानमा परेका छन् । विजेता टोलीलाई क्रमशः नगद १५ हजार, ७ हजार ५ सय, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा चार समूहको सहभागिता रहेको क्लबले जनाएको छ ।
यस्तै छेलो फाल्ने प्रतियोगितामा पुरुषतर्फ देवचुली–७ का कृष्णबहादुर बिक प्रथम र सोही स्थानका दिपक बिक द्वितीय बनेका छन् । महिलातर्फ देवचुली–१४ की पुर्णिमा अधिकारीले प्रथम स्थान हात पारेकी छन् भने देवचुली–११ की लक्ष्मी कार्की र रुपा थापा द्वितीय स्थानमा परेका छन् । उनीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम प्रगतिकला मन्दिर युवा क्लबका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने देवचुली नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए । सो अवसरमा वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, केशवराज गौतम, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहयोगी संघसंस्था र स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत क्लबका सल्लाहकार कमला भण्डारीले गर्नुभएको थियो भने सञ्चालन राकेश विश्ककर्माले गरेका थिए । तीज महोत्सव अन्तर्गत जारी फुटबल प्रतियोगिता पनि भाद्र २ गतेदेखि सुरु भइसकेको र बाँकी खेलहरू सञ्चालन भइरहेको क्लबले जानकारी दिएको छ ।