देवचुली, साउन–२७,
मध्य नेपालको नवलपुर, देवचुलीमा रहेको देशकै उत्कृष्ट सामुदायिक विद्यालय भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा ४ जिपिए ल्याएकी सिम्जना भट्टराईलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको छ। एसइइको प्रारम्भिक नतिजामा ३.९६ जिपिए ल्याएकी सिम्जनाको पुनर्योगका लागि विद्यालयले उनी सहित १० जना विद्यार्थीहरूको राष्ट्रिय परीक्षा बोर्डमा निवेदन दिएको थियो। पुनर्योगपछि सिम्जनाले ४ जिपिए ल्याउन सफल भएकी थिइन्। माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७२ बाट सुरु भए यता हालसम्म ४ जिपिए प्राप्त गर्ने सिम्जना भीमसेनकी पहिलो र एकमात्र विद्यार्थी हुन्। एसइइको इतिहासमा विद्यालयमै पहिलोपटक ४ जिपिए प्राप्त गरेकी सिम्जनालाई विद्यालयले नगद १ लाख रुपैयाँ सहित सम्मान गरेको हाे । सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएबापत विद्यार्थीलाई प्रोत्साहनका रुपमा दिइएको सो रकम सम्भवत नेपालमै पहिलो हो। यद्यपि नवलपुर जिल्लामा भने पहिलो नै हो।


ठूलो धनराशी सहित विद्यालयले आँफूले प्राप्त गरेको उपलब्धिलाई सम्मान गरेकोमा सिम्जना भट्टराईले खुसी व्यक्त गरिन्। उनले यस प्रकारको पुरस्कार र सम्मान भावी दिनका साना भाइबहिनीहरुलाई प्रोत्साहन हुने पनि बताइन्। सम्मान कार्यक्रममा स्वागतका शब्दहरू राख्दै विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक त्रुटिका कारण ढिलो गरी ४ जिपिए नतिजा प्राप्त गरे पनि विद्यालयका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले भीमसेन माविले कक्षा ५, ८, एसइइ र कक्षा १२ को परीक्षामा सधैं उत्कृष्ट हुने गरेको बताउनुहुँदै ४ जिपिए नतिजाले विद्यालयको शिक्षण सिकाई उपलब्धिलाई थप मजबुत बनाएको बताउनुभयो ।
-1755015419.jpeg)
कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले भीमसेन आदर्श नमुना माविले एसइइ परीक्षामा प्राप्त गरेको नतिजाले विद्यालयको गर्बिलो इतिहासलाई चरितार्थ पार्दै भावी दिनका लागि पनि सफलताको सिंढीमा इट्टा थप्ने काम गरेको बताउनुभयो। धन्यवाद सहित समापन मन्तव्य राख्नुभएका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछानेले भीमसेन आदर्श नमुना मावि जिल्लाको मात्र नभई देशकै उत्कृष्ट शैक्षिक संस्था भएको विषयलाई यस किसिमको नतिजाले न्याय मिलेको बताउनुभयो।
-1755015377.jpeg)
विद्यार्थी सम्मान कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक कृष्ण काफ्ले गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसाल अध्यक्ष रहनुभएको देवचुली उद्योग वाणिज्य संघले समेत ४ जिपिए प्राप्त गर्ने सिम्जना भट्टराईलाई नगदसहित सम्मान गरेको थियो। सो अवसरमा उद्योग वाणिज्य संघकी महासचिव तिलादेवी अर्यालको पनि उपस्थिति रहेको थियो।
-1755015379.jpeg)
खुसियाली मनाउन बाजागाजा सहित नगर परिक्रमा
४ जिपिए प्राप्त भएको खुसियाली मनाउन भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवस्थापन समितिसहित विद्यालयको सेवा क्षेत्रभित्र बाजागाजा सहित नगर परिक्रमा गरेको थियाे। विद्यालय प्राङ्गणबाट सुरु भएको र्याली धारापानी, देवचुली नगरपालिकाको कार्यालय,कैलाश चोक, प्रगतिनगर, पृथ्वीनगर, विशालटार, गोरे घुम्ती, मुन्डे, सीताबास, गैंडी, लक्ष्मीपुर हुँदै दलदले चोक पुगी पुन विद्यालयसम्म पुगेको थियो । सो अवसरमा दलदले चोकबाट भाग्यपुरीसम्म विद्यार्थी, शिक्षक, समितिका पदाधिकारी सहित स्थानीयको सहभागितामा नाँचगान सहित खुसियाली मनाइएको थियो।
-1755015376.jpeg)
भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८१ मा २ सय ५ जना विद्यार्थीहरू उच्च अङ्क साथ उत्तीर्ण भएका थिए। भीमसेन मावि देवचुली नगरपालिकामा एसइइ परीक्षामा नगर प्रथम भएको विद्यालय हो। भीमसेनबाट एसइइमा ८६.५% विद्यार्थी उत्तीर्ण भएका थिए।
-1755015382.jpeg)