मलेसिया, असार–२१,
लगातार दबाब र संकटका बाबजुद पनि नेपालले फेरि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि उचाल्दै आफ्नो दबदबा प्रमाणित गरेको छ। शनिबार सिंगापुरविरुद्धको फाइनल खेलमा नेपालले मात्र २ विकेटको रोमाञ्चक जित निकालेको हो।
एकछिन यस्तो अवस्था आएको थियो, जब जित टाढा जस्तो देखिन थालेको थियो। ११४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले ४० रनमा पहिलो विकेट मात्र गुमाएको भए पनि त्यसपछि लगातार विकेट झर्दै ५८/५ को संकटमा परेको थियो। तर, युवा खेलाडीहरुले दबाबलाई आत्मविश्वासमा परिणत गरे।


सबैभन्दा चुनौतीपूर्ण अवस्थामा जोय थापा मैदानमा ढुक्क भएर उभिए। उनले अविजित २४ रन बनाएर टोलीलाई सम्हाल्ने काम गरे। शुभम खनालले पनि १६ रनको योगदान गर्दै साझेदारी जमाए। जब नेपालको स्कोर ९२/८ मा पुग्यो, त्यतिबेला समेत खेलाडीहरुले आत्मसमर्पण गरेनन्। जोय र अभय यादवले संयमित ब्याटिङ गरे। अभय यादवले अन्तिम क्षणमा विजयी छक्का प्रहार गर्दा मैदानमा उन्माद छायो।
नेपालका बलरहरुले पनि फाइनलमा अनुशासित प्रदर्शन गरे। अभय यादवले ३ विकेट लिएर सिंगापुरलाई ११३ रनमै समेट्न ठूलो भूमिका खेले। सुशिल बहादुर रावलले पनि ३ विकेट झारे।

नेपालले यस प्रतियोगितामा कुनै खेल गुमाएन। समूह चरणमा पनि सिंगापुरलाई हराएको थियो। यो उपाधिसँगै नेपालले २०१७, २०१९, २०२३ र २०२५ मा लगातार उपाधि जित्ने कीर्तिमान कायम गर्यो।
यो जित केवल उपाधि जित्ने कथा होइन, संकटका बीच अडिग रहने जुझारु मनोवृत्तिको पनि परिचायक हो। युवा खेलाडीहरुको यही साहस र धैर्य भविष्यमा नेपाली क्रिकेटको बलियो जग बन्ने आशा गरिएको छ।