देवचुली
देवचुली १३ दलदलेमा रहेको ओपेरा टेक्निकल इन्स्टिच्युट प्रालिले बेसिक कम्प्युटर कोर्स पूरा गरेका १६९ जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको छ। बुधबार देवचुली पार्टी प्यालेसमा आयोजित विशेष समारोहमा तीनमहिने कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो।

कार्यक्रमको अध्यक्षता इन्स्टिच्युटका प्रबन्ध निर्देशक केशव भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल, भीमसेन आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्निधर भुसाल, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनबहादुर दाहाल, कुमारवर्ती बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख राजेन्द्र केसी, नेपाल माध्यमिक विद्यालयका विज्ञान शिक्षक सुनिल बन्जारा, जनज्योति माध्यमिक विद्यालयका विज्ञान संकाय संयोजक रमेशराज पौडेललगायत विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नगर प्रमुख न्यौपानेले प्राविधिक शिक्षाको महत्त्वमाथि जोड दिँदै बेसिक कम्प्युटर ज्ञान आजको युगमा सबैका लागि अपरिहार्य भएको बताउनुभयो। "एसईईपछि खाली समय बिताइरहेका विद्यार्थीहरूका लागि यस्ता तालिमले प्राविधिक सीप विकास गर्न र प्रविधिमैत्री बन्न महत्त्वपूर्ण भूमिका खेल्छ," उहाँले भन्नुभयो।

कार्यक्रममा सहभागी अधिकांश प्रधानाध्यापकहरूले एसईईपछि विद्यार्थीहरूले आफ्नो शैक्षिक गन्तव्यबारे राम्रोसँग बुझेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो। उहाँहरूले आ-आफ्ना शैक्षिक संस्थामा उपलब्ध पाठ्यक्रम र अवसरहरूबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभयो।
तालिममा सहभागी विद्यार्थी अनुष्का भण्डारीले तीनमहिने कोर्समार्फत कम्प्युटरका आधारभूत कुराहरू सजिलै सिकेको अनुभव सुनाउनुभयो। "तालिमका क्रममा हामीले विभिन्न विद्यालय र कलेजका कम्प्युटर ल्याबहरूको अवलोकन गर्ने अवसर पनि पायौँ, जसले हाम्रो ज्ञानलाई थप व्यावहारिक बनायो," उहाँले भन्नुभयो।

कार्यक्रमको स्वागत इन्स्टिच्युटका जनसम्पर्क प्रमुख ढुण्डिराज केसीले गर्नुभएको थियो भने सञ्चालन नगेन्द्र भण्डारीले गर्नुभएको थियो। विगत १३ वर्षदेखि सञ्चालनमा रहेको ओपेरा टेक्निकल इन्स्टिच्युटले कम्प्युटर तालिमलाई निरन्तरता दिँदै आएको छ र प्राविधिक शिक्षामार्फत विद्यार्थीहरूलाई सक्षम बनाउने लक्ष्य राखेको छ।