देवचुली, असार ८
देवचुली नगरपालिकाको १६औं नगरसभा सम्पन्न भएको छ। नगरसभाको अध्यक्षता नगर प्रमुख हरिप्रसाद न्यौपानेले गर्नुभएको अधिवेशनमा आर्थिक वर्ष २०८२र८३ का लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
नगर प्रमुख न्यौपानेले सभामा नीति तथा कार्यक्रम वाचन गरी प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यक्रममा शिक्षालाई सिप, सिपलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने नीति प्राथमिकतामा राखिएको छ। साथै, प्राकृतिक चिकित्सा, नागरिक आरोग्य महाअभियान, झोलाविहीन शुक्रबार, विद्यालय करेसाबारी, मेयरसँग करिअर संवाद, विद्यार्थी सिप मेला, कृषि तथा रोजगार मेला जस्ता कार्यक्रम समेटिएका छन्।

त्यस्तै, देवचुली डाँडामा केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन, कक्षा १ देखि ५ सम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउने योजना, बालमैत्री स्थानीय तह घोषणाको दिगोपनाका सूचक पुनरावलोकन, कृषिमा नगर श्रम कार्यक्रम सञ्चालन, स्थानीय मदिराको गुणस्तरीकरण र ब्रान्डिङ, नगर वडाहरूको समायोजन, श्रमिकको तथ्यांक सङ्कलन तथा पञ्जीकरण, नगर अस्पतालको आकस्मिक सेवा सुदृढीकरण, सामुदायिक प्राकृतिक चिकित्सालयसँग समन्वयमा मेयर स्वास्थ्य कार्यक्रम र किसान पेन्सन कार्यक्रम जस्ता नगरवासीमैत्री योजना पनि नीति तथा कार्यक्रममा समावेश छन्।

प्रस्तावित नीति तथा कार्यक्रममाथि नगरसभा सदस्य चित्रबहादुर थापा, डम्बरबहादुर सिंजाली, कृष्णबहादुर खड्का र धर्मा न्यौपाने लगायतले जिज्ञासा र प्रश्नहरू उठाएका थिए। नगर प्रमुख न्यौपानेले सबै जिज्ञासाहरूलाई सम्बोधन गर्दै आवश्यक स्पष्टीकरण दिनुभएको थियो। अन्ततः नीति तथा कार्यक्रमलाई नगरसभाले सर्वसम्मतले पारित गरेको हो। त्यसपछि नगर प्रमुख न्यौपानेले उपप्रमुख पार्वता तिवारीलाई बजेट ब्रिफकेस हस्तान्तरण गर्दै आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्न आग्रह गर्नुभएको थियो। उपप्रमुख तिवारीले आगामी आर्थिक वर्षको लागि रु ८८ करोड ५४ लाख ५९ हजार ५ सय ४३ को कुल बजेट प्रस्ताव गर्नुभएको हो।

उहाँले वाचन गर्नुभएको बजेट वक्तव्यअनुसार चालुतर्फ रु ५५ करोड ५८ लाख ९१ हजार ५ सय २ र पूँजिगत तर्फ रु ३२ करोड ९५ लाख ६८ हजार ४१ विनियोजन गरिएको छ। बजेटको आम्दानी पक्षमा संघीय सरकारबाट सशर्त अनुदान रु ३४ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदान रु १३ करोड ६७ लाख, विशेष अनुदान रु २ करोड २५ लाख, राजस्व बाँडफाँड रु १२ करोड ९१ लाख २५ हजार ६९३ समावेश गरिएको छ। गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण रु १ करोड ७९ लाख ३२ हजार, राजस्व बाँडफाँड रु १ करोड ५८ लाख ९९ हजार, विशेष अनुदान रु ४० लाख र समपुरक अनुदान रु ६० लाख रहेको छ।

त्यस्तै, नगरपालिकाको आन्तरिक आय रु ७ करोड ७० लाख र चालु आ।व।को बैंक मौज्दातबाट रु ९ करोड १६ हजार २ सय ८५० रकम आयको रूपमा रहने अनुमान गरिएको छ। सभाको समापनअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो।नगर प्रमुख र उपप्रमुखद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटले आगामी वर्ष देवचुली नगरपालिकाको विकास, सेवा प्रवाह र समावेशी प्रगतिको नयाँ दिशातर्फ प्रस्थान गर्ने अपेक्षा गरिएको छ।