देवचुली, असार–३,
स्वच्छ र सुरक्षित पिउने पानीको पहुँच विस्तार गर्दै नेपालकै उत्कृष्ट खानेपानी उपभोक्ता संस्था प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गरिमा विकास बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहयोगमा दलदले र प्रगतिनगर चोकमा सर्वसाधारणका लागि पिउने पानीको धारा जडान गरेको छ।
दलदले बजार क्षेत्रमा पहाडी गाउँ जाने यात्रु तथा सर्वसाधारणलाई मध्यनजर गर्दै गरिमा विकास बैंक लिमिटेड दलदले शाखाको सहकार्यमा पानीको धारा जडान गरिएको हो। प्रगतिनगर खानेपानीका अध्यक्ष डिल्लीराम कडरीयाका अनुसार, बाटोमा हिँड्ने बटुवाका लागि सहज होस् भन्ने उद्देश्यले फिल्टरसहितको स्वच्छ पानीको व्यवस्था गरिएको हो। कार्यक्रमको उद्घाटन देवचुली १३ का वडाध्यक्ष एकदेव पौडेलले प्रमुख अतिथिका रूपमा गर्नुभयो।
उक्त कार्यक्रममा गरिमा विकास बैंक दलदलेका शाखा प्रमुख समीर सुबेदी, खानेपानी संस्थाका उपाध्यक्ष कृष्ण थापा, सचिव विष्णु न्यौपाने, लेखा संयोजक जीवन श्रेष्ठ, कार्यालय प्रमुख इश्वरबहादुर पान्डे, बजार व्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइली, सचिव चिरञ्जीवी पाण्डे लगायतको उपस्थिति थियो। कार्यक्रममा सचिव न्यौपानेले सहजीकरण गर्नुभएको थियो।

त्यस्तै गरी, प्रगतिनगर चोकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड धारापानी शाखाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फिल्टरसहितको पिउने पानीको धारा जडान गरिएको छ। सार्वजनिक स्थानमा पिउने पानीको अभाव हटाउने उद्देश्यले बैंकसँग समन्वय गरि प्रगतिनगर खानेपानी संस्थाले यो कार्य सम्पन्न गरेको हो।
धाराको समुद्घाटन कार्यक्रम प्रगतिनगर खानेपानीका अध्यक्ष डिल्लीराम कडरीयाको अध्यक्षता तथा देवचुली १५ का वडाध्यक्ष सुरेश रानाभाटको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सिटिजन्स बैंक धारापानीका शाखा प्रमुख विश्वास ढुंगेल, खानेपानी संस्थाका सल्लाहकार परशुराम रेग्मी, सचिव विष्णु न्यौपाने, लेखा संयोजक जीवन श्रेष्ठ, कार्यालय प्रमुख इश्वरबहादुर पान्डे, बजार व्यवस्थापन समितिका अध्यक्ष शिवलाल गैह्रे लगायतको उपस्थिति थियो।
धारापानी शाखा प्रमुख ढुंगेलले बैंकले वित्तीय क्षेत्रसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै, आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूमा निरन्तर सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार, बैंकले हालै धारापानीमा एटीएम सेवा पनि सुरु गरेको छ।
दिगो विकास लक्ष्य (सबैका लागि सुरक्षित पानी र सरसफाइ) अनुरूप समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले गरिएका यस्ता सहकार्यहरू उदाहरणीय बन्न पुगेका छन्।