नवलपुरको देवचुली नगरपालिकामा मुख्य कार्यालय रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृतक शेयर सदस्यको घरमा मृतक सदस्य सहायता अन्तर्गत परिवारलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ। साकोसले देवचुली १ निवासी स्व.कुल प्रसाद सुवेदीको परिवारलाई मृतक सहायता रकम श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले जानकारी दिनुभयो।

सुवेदीकाे निधनपछि साकोसले आफ्नो आन्तरिक कार्यविधिअनुसार दुर्घटना राहत सुविधा अन्तर्गतको रकम शोकाकुल परिवारलाई चेक मार्फत् हस्तान्तरण गरेको हो।
स्व. कुल प्रसाद सुवेदीको निवासमा आयोजित श्रद्धाञ्जली सहितको चेक हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमाकुमारी खनाल, सचिव डिलाराम पाण्डे, सञ्चालक सदस्यहरू देवेन्द्र भट्टराइ, नवराज पोख्रेल तथा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सदस्यहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

संस्थाका प्रतिनिधिहरूले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्व. सुवेदीको जीवन, योगदान तथा संस्थासँगको सम्बन्धको स्मरण गर्नुभएको थियो। साथै, संस्थाले सदस्यको सुख-दुःखमा सधैँ साथ रहने प्रतिबद्धता पुनः दोहोर्याएको थियो।
संस्थाका विभागिय प्रमुख उमापति भट्टराइ (राजु)ले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभयो :
"हामीले एक सच्चा सदस्य गुमाएका छौँ। यस्ता कठिन घडीमा संस्थाले पीडामा रहेका परिवारजनलाई राहत र साथ दिनु आफ्नो कर्तव्य ठान्दछ"। उहाँले शाेकाकुल परिवारमा धैर्य र साहस प्रदान गर्न ईश्वरसँग कामना गर्दै, संस्थाले यस्ता विपद्को घडीमा संवेदनशील जिम्मेवारी वहन गर्न अग्रसर हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी स्थानीय समुदाय, आफन्तजन र शुभचिन्तकहरूले पनि श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको शान्तिको कामना गरेका थिए।
-1749612213.jpeg)
मध्य नेपाल साकोसले यस्ता दु:खद घडीमा आफ्ना शेयर सदस्यहरूको परिवारप्रति दायित्वबोधसहित सहयोग उपलब्ध गराउँदै आएको छ, जसले शोकाकुल परिवारमा केही हदसम्म आर्थिक राहत पुर्याउने विश्वास संस्थाले लिएको छ।