देवचुली, जेठ–२४
प्रगतिनगर नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा खानेपानी सुरक्षा उपसमितिको कार्यविभाजन सम्पन्न गरिएको छ। खानेपानी सेवाको गुणस्तर, पारदर्शिता र उपभोक्ता सन्तुष्टिलाई केन्द्रमा राखी उपसमितिहरूलाई औपचारिक रूपमा जिम्मेवारी प्रदान गरिएको हो।
कार्यक्रमको अध्यक्षता सुरक्षा योजना उपसमितिका संयोजक कृष्णबहादुर थापाले गर्नुभएको थियो भने सञ्चालन उपसमितिका सचिव रविचन्द्र गिरीले गर्नुभएको थियो। कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरियाको समेत विशेष उपस्थिति रहेको थियो।
कार्यविभाजन अन्तर्गत सरसफाई तथा योजना अनुगमन (जोखिम पहिचान) उपसमितिको संयोजकमा रविलाल भुसाल रहनुभएको छ भने सदस्यहरूमा टेकनाथ न्यौपाने, शान्तिमाया सापकोटा, चिरञ्जीवी पाण्डे र लक्ष्मी कुमाल रहनुभएको छ। यस उपसमितिले खानेपानीको स्रोत, वितरण प्रणाली र सरसफाई सम्बन्धी जोखिमहरूको पहिचान र अनुगमन गर्ने जिम्मेवारी पाएको छ।
त्यसैगरी, उपभोक्ता गुनासो, सुझाव तथा सन्तुष्टि पहिचान (सूचना तथा प्रविधि उपसमिति)को संयोजकमा सुशील भुसाल चयन हुनुभएको छ। यस उपसमितिमा सुनिता पाध्य, शान्तामाया सिंजाली, भुवाराज पाठक र कुन्तादेवी नेपाली सदस्यको रूपमा रहनुभएको छ। उपभोक्ताबाट आउने गुनासो र सुझावहरू संकलन गरी सेवा सुधारमा समन्वय गर्ने कार्य यो उपसमितिले गर्नेछ।
यस्तै, मूल्याङ्कन तथा प्रतिवेदन प्रस्तुत उपसमितिको संयोजकमा रविचन्द्र गिरी रहनुभएको छ भने सदस्यहरूमा पदुमा थापा मगर, सुमित्रा आले, ईश्वरीप्रसाद सिग्देल र राजुराज न्यौपाने रहनुभएको छ। उपसमितिले विभिन्न उपसमितिहरूको कार्यको मूल्याङ्कन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष डिल्लीराम कडरियाले खानेपानी सेवा प्रवाहलाई उत्तरदायी, गुणस्तरीय र सहभागीमूलक बनाउन यस्ता संरचनाहरू आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले उपसमितिहरूलाई जिम्मेवारीप्रति गम्भीर भई सेवा सुधारमा योगदान दिन आग्रह गर्नुभयो।
खानेपानी सुरक्षा योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न गरिएका यी कार्यविभाजनहरू संस्थाको संस्थागत मजबुती र उपभोक्तामैत्री सेवा प्रणाली विकासतर्फको सकारात्मक कदमका रूपमा लिइएको छ।