देवचुली, जेठ-१५
विशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, देवचुली ९ को नयाँ कार्यसमिति चयनका लागि आयोजित निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। संस्थाको १२ पदका लागि २३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको निर्वाचन बिहान ७ बजे कालिका माविमा सुरु भई दिउँसो ३ बजे सम्म सञ्चालन भएको हो।
कुल ५११ जना मतदातामध्ये ४१६ जनाले मतदान गरेका छन्, जसले गर्दा कुल ८१।४० प्रतिशत मतदान भएको निर्वाचन समितिले जानकारी दिएको छ। मतगणना केही समयपछि सुरु हुने निर्वाचन समितिका संयोजक नवराज घिमिरेले जानकारी दिनुभयो।

अध्यक्ष पदका लागि भरतराज आचार्य, यदुनाथ कंडेल र खेमनारायण पंगेनीले उम्मेदवारी दिएका थिए। यद्यपि यदुनाथ कंडेलले निर्वाचन कार्यतालिका बाहिर गएर सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। उपाध्यक्षमा शिवराज प्रधान श्रेष्ठ र प्रेमबहादुर गुरुङ, सचिवमा सृष्टि राना पुलामी र तुलसीराम अर्याल, कोषाध्यक्षमा किरण तामाङ र विमाया मगरबीच प्रतिस्पर्धा भएको छ।
त्यस्तै, कार्य समिति सदस्यका लागि महिला जनजाति तर्फबाट ज्ञानीमाया राई मगर र इश्वरी गाहा मगर, दलित महिला सदस्यमा फूलमाया कामी र सरस्वती बिक, महिला सदस्य अन्यमा गीता कुमारी भट्टराई र गीता पाध्य, खुला सदस्यमा मोहनसिंह दमै, सीता राना, टेकराज श्रेष्ठ र नेत्रलाल काफ्लेबीच प्रतिस्पर्धा भएको छ।

लेखा समितिको संयोजकमा उमाकान्त भुसाल र लेखा सदस्यमा गिरबहादुर दमाई निर्विरोध निर्वाचित भएका छन्। लेखा समितिको महिला सदस्य पदका लागि रेनुका भुसाल भट्टराई र भिममाया खरु मगरबीच प्रतिस्पर्धा भएको छ।
निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित कार्य समिति सदस्यका रुपमा जनजाति महिला, दलित महिला र अन्य महिला तर्फबाट १-१ जना र खुला तर्फबाट २ जना सदस्य चयन गरिनेछ। लेखा समितिमा संयोजकसहित २ जना सदस्य चयन गरिनेछ।

निर्वाचन समितिका संयोजक नवराज घिमिरेले संस्थाको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सबै उम्मेदवार र मतदाताको सक्रिय सहभागिताले निर्वाचन प्रक्रिया सफल भएको बताउनुभयो ।
