पोखरा, जेष्ठ-१३
गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेट प्रतियोगितामा नवलपुर यू–१६ टोलीले शानदार प्रदर्शन गर्दै उपाधि हात पारेको छ। पोखरा क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नवलपुरले बलियो प्रतिद्वन्द्वी कास्कीलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
नवलपुरको बलिङमा सुसिल भुसालको पाँच विकेट
फाइनलमा कास्कीले टस जितेर ब्याटिङ रोज्दा नवलपुरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। सुसिल भुसालले ७ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै कास्कीको ब्याटिङ लाइनअप तहसनहस बनाए। समीर रोका र सुजन अर्यालले २–२ विकेट लिएर सुसिललाई साथ दिए। नवलपुरका बलरहरूको धारिलो प्रदर्शनकै कारण कास्की २८ ओभरमै १०५ रनमा समेटिएको थियो।
नवलपुरको सहज लक्ष्य पछ्याउने सफल पारी
१०६ रनको लक्ष्य पछ्याउन उत्रिएको नवलपुरले २६ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। समीर न्यौपानेले २८ रनको आक्रामक पारी खेले भने अनिश भट्टाराईले २० रन बनाएर नटआउट रहेर टिमको जित सुनिश्चित गरे।
सन्तुलित खेलाडीहरूको उत्कृष्ट प्रदर्शन
नवलपुरले फाइनलमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै विभागमा सन्तुलित प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो प्रभुत्व कायम गर्यो। यस उपाधिसँगै नवलपुरले गण्डकी प्रदेश यू–१६ क्रिकेट प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरेको छ।
व्यक्तिगत अवार्डमा पनि नवलपुरकै दबदबा
प्रतियोगितामा नवलपुरका समीर न्यौपानेलाई वेष्ट ब्याटर र शैलेस काफ्लेलाई वेष्ट बलर घोषित गरिएको छ। तनहुँका सुप्रिम सुनारले प्लेयर अफ द सिरिजको उपाधि जिते।

उपाधि विजेता खेलाडीहरूलाई सम्मान
उपाधि विजेता नवलपुर टोलीलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, नेपाल क्रिकेट संघका सदस्य सुदिप शर्मा, विद्यालय खेलकुद महासंघ गण्डकीका अध्यक्ष बिरबहादुर बुढाथोकी, विद्यालय खेलकुद महासंघ कास्कीका अध्यक्ष कृष्णबहादुर केसी,देवचुली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई, लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो। समापन कार्यक्रम प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो।
नवलपुरको उपाधि जितसँगै, जिल्लाको क्रिकेटमा नयाँ उत्साह र सम्भावना थपिएको विश्वास गरिएको छ।