देवचुली–१३, दलदले
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै, कर्मचारीहरूको दक्षता र ज्ञान अभिवृद्धि गर्न जेठ ९ र १० गते दुई दिने कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष तुलमणि पौडेलको अध्यक्षतामा देवचुली–१३, दलदलेमा आयोजित तालिमको उद्घाटन सत्रमा सचिव डिलाराम पाण्डेले स्वागत मन्तव्य राख्नुहुँदै सबैलाई तालिममा स्वागत गर्नुभएको थियो।
तालिमको पहिलो सत्रमा अध्यक्ष पौडेलले “सहकारी संस्थामा कर्मचारीको सशक्त भूमिका” विषयमा सहजीकरण गर्दै, सहकारीको सफल सञ्चालनका लागि कर्मचारीहरूमा जिम्मेवारीबोध, इमानदारी र निरन्तरता आवश्यक रहेकोमा जोड दिनुभयो। प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले बैठक सञ्चालन, माइन्युट लेखन सीप तथा अभ्यास, संस्थागत कार्यक्रम सञ्चालन र प्रतिवेदन प्रस्तुतीकरण विषयमा व्यावहारिक सहजीकरण गर्नुभएको थियो।

तालिमका विभिन्न सत्रहरूमा संस्थाका विभागीय प्रमुखहरू उमापति भट्टराई (राजु), हरिकृष्ण खनाल र राजु श्रेष्ठले ऋण व्यवस्थापन, ऋण विश्लेषण तथा मूल्यांकन, ऋण असुली कानुनी प्रक्रिया, धितो लिलामी प्रक्रिया, लेखा व्यवस्थापन, मानव संसाधन तथा मौज्दात व्यवस्थापन, सम्पत्ति शुद्धिकरण र संस्थामा प्रविधिको प्रयोग जस्ता महत्वपूर्ण विषयमा ज्ञान र अनुभव सँगै व्यवहारिक अभ्याससमेत गराउनु भएको थियो।
दुई दिने तालिममा संस्थाका २४ जना कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम समापनमा अध्यक्ष पौडेलले कर्मचारीको क्षमता विकास संस्थाको दीर्घकालीन सफलता र लक्ष्य प्राप्तिका लागि अत्यावश्यक रहेको बताउँदै, संस्थाले समय–समयमा यस्ता तालिम आयोजना गर्नु जरुरी रहेको भन्दै कर्मचारीहरूले निरन्तर अध्ययन, सिकाइ र व्यवहारिक अभ्यासमार्फत आफ्नो दक्षता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
तालिमले सहभागी कर्मचारीहरूमा जिम्मेवारीबोध, दक्षता र सेवाप्रवाहमा सकारात्मक सुधार ल्याउने आयोजकले विश्वास गरेका छ।

